राप्रपाको केन्द्रीय सदस्यमा ४० वर्षमुनिका २० युवा मनोनित

राप्रपाको केन्द्रीय सदस्यमा ४० वर्षमुनिका २० युवा मनोनित


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्यमा ४० वर्षमुनिका २० युवा मनोनित भएका छन् ।

राप्रपाको नवीन राप्रपा कार्ययोजनाअन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्य मनोनित गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

पार्टीका उपाध्यक्ष ध्रुबबहादुर प्रधान संयोजक रहेको छनोट समितिले विभिन्न मापदण्डका आधारमा अन्तर्वार्ता लिएपछि १० पुरुष र १० महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरिएको उनले बताए ।

पुरुष १० जनातर्फ दार्चुलाका अशोक सिंह ‘सम्राट’, कैलालीका लोकेन्द्र कुँवर, काठमाण्डुका बिनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका इन्जिनीयर गोपीकृष्ण चौलागाई, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीत कुमार मिश्र, काठमाण्डुका समीर शर्मा र यूके प्रवासका डा .डेभिड थापा छनोट भएका छन् ।

महिला १० जनातर्फ धादिङकी बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा, सुनसरीकी नजियाँ खातुन मिया, ललितपुरकी इन्जिनीयर सजिना कार्की, सल्यानकी अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी इन्जिनीयर दीपा श्रेष्ठ, मिस नेपाल वर्ल्ड २०२४, काठमाण्डुकी आश्मा कुमारी केसी र हुम्लाकी तारा जैसी छन् ।

राप्रापाले पार्टी संगठनको कार्यशैलीमा व्यापक सुधारको नीति अघि सार्दै १ वर्षमा २ लाख सक्रिय सदस्य पुर्‍याउने लक्ष्य राखेको छ ।

राप्रपाले पार्टीको वडादेखि सबै तहका अधिवेशन गर्न कार्यसम्पादन समितिका सदस्य तोरणबहादुर गुरुङको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिएको छ ।