भ्रष्ट शासकहरूले देशलाई खोक्रो बनाए : महामन्त्री राणा

भ्रष्ट शासकहरूले देशलाई खोक्रो बनाए : महामन्त्री राणा


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशम्सेर राणाले भ्रष्ट शासकहरूले देशलाई खोक्रो बनाएका कारण विद्यमान व्यवस्थाबाट मुलुक बन्न र बच्न गाह्रो भएको बताएका छन् ।

अब तमाम राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दूवादी र राजावादीहरू एकजुट भएर मुलुक जोगाउने आन्दोलन गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

‘भ्रष्ट व्यवस्था र शासकहरूले देशलाई खोक्रो पारिसकेका छन् । यो बेलामा सबै शक्तिहरू एक ठाउँमा आएर मुलुक जोगाउन आन्दोलन गर्न ढिलाई गर्नु हुँदैन,’ राप्रपा महामन्त्री राणाले सोमबार भने, ‘तमाम राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजावादीहरू चुप लागेर मुकदर्शक भएर बस्नु हुँदैन । अहिलेको व्यवस्था र प्रणालीबाट मुलुक बन्न पनि सक्दैन र बच्न पनि निकै गाह्रो छ ।’

भारतको मुम्बईमा उपचारको क्रममा रहेका राणाले वक्तव्य जारी गर्दै दिनप्रतिदिन मुलुक समस्याको चक्रब्यूहमा भासिँदै गएको भनेर चिन्ता व्यक्त गरे । ‘सरकार राष्ट्रिय मुद्दा र समस्याहरूमा केन्द्रित हुनुको सट्टा व्यक्तिगत प्रतिशोध साँध्न व्यस्त छ ।’

समान विचार भएका राजनीतिक दल, संघसंगठन, अभियान, अभियन्ताहरूसँग वार्ता, छलफल गरी एकतावद्ध भएर अघि बढ्ने वातावरण राप्रपाले तत्काल निर्माण गर्नुपर्ने भन्दै महामन्त्री राणाले जोड दिए । ‘अब अगुवाइ राप्रपाले नै गर्नुपर्छ,’ उनले भने ।

राप्रपाको बस्न लागेको कार्यसम्पादन समिति बैठकमा गम्भीर छलफल हुनुपर्ने उनको राय छ । ‘हामी फराकिलो ढंगले देशलाई केन्द्रमा राखेर बुद्धिमत्तापूर्वक अघि बढ्नुको विकल्प छैन । सानातिना कुरामा अल्झिने, पूर्वाग्रह र संकीर्णता बोक्ने छुट हामीलाई छैन । एकतावद्ध हुँदै अघि बढौं । हाम्रो विचार र बाटो नै मुलुकको लागि सुहाउँदो छ,’ राणाले भने ।

मुम्बईमा स्वास्थ्य लाभ गरिरहेका राणाले स्वास्थमा उल्लेखनीय सुधार आएको र अब चाँडै स्वदेश फर्किने बताए । आफ्नो स्वास्थ्यबारे चिन्ता चासो लिने सबैमा हार्दिक आभार प्रकट गरेका छन् ।