काठमाण्डु- राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार काठमाडौंमा निषेधाज्ञा तोड्ने भएको छ।
राप्रपाले गत साता भएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार काठमाडौंमा निषेधित क्षेत्र तोड्ने भएको हो।
गत चैत १५ गते भएको प्रदर्शनमा हिंसात्मक भएपछि सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई पक्राउ गरेको तथा उनीहरूको रिहाइको मागसहित राप्रपाले काठमाडौंमा निषेधित क्षेत्र तोड्न लागेको हो।
राप्रपाले राजतन्त्र पुनः स्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा पनि गरेको छ ।
तर, गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ।
मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट आइतबार प्रचलित कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यसअघि बल्खुमा चैत २६ मा राप्रपाले र त्यसअघि चैत १५ मा तिनकुनेमा राजवादीहरुले प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया