काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरू गिरफ्तार भएपछि पार्टीको कार्यसम्पादन समितिको आकस्मिक बैठक बसेको छ ।
बैठकले अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ्ग, प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार परिसरभित्रैबाट गिरफ्तार गरिनु आपत्तिजनक र दूर्भाग्यपूर्ण भएको ठहर गरेको छ ।
‘सरकारको यस प्रकारको रवैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र भएको प्रस्ट छ,’ बैठकपछि प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्दा गिरफ्तार हुनुभएका अध्यक्ष र सबै नेताहरूको अविलम्ब रिहाइको राप्रपा माग गर्दछ ।’
सरकारको रवैयाले स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संविधानप्रदत्त अधिकार कुण्ठित भएको राप्रपाले जनाएको छ । ‘संविधानप्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरिन्छ भने राप्रपाले आगामी दिनमा थप सशक्त ढंगबाट विरोध र प्रतिवाद गर्नेछ । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया