जिम्मेवारी हेरफेरले राप्रपामा विवाद बल्झियो

जिम्मेवारी हेरफेरले राप्रपामा विवाद बल्झियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अध्यक्ष राजेन्द्र लिङ्देनको मनोमानीले विवाद बल्झिएको छ । अध्यक्ष लिङ्देनले आफूविरुद्ध पार्टीमा समानान्तर गतिविधि चलाएको भन्दै बिहिबार महामन्त्री धवल शमशेर राणालाई संगठन विभाग प्रमुखबाट हटाएपछि पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेको हो ।

अध्यक्ष लिङ्देनको यो निर्णयमा पार्टीको निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले असहमति जनाएपछि पार्टीभित्रको विवाद सतहमा आएको हो । बिहिबार लङ्देनले महामन्त्री राणालाई हटाएर संगठन विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई दिएपछि अध्यक्ष लिङ्देन पार्टीमा निरंकुश हुँदै गएको आरोप डा. लोहनी, महामन्त्री राणलगायतले लगाएका छन् ।

महामन्त्री राणा विरामी भएर उपचारका लागि नयाँ दिल्लीमा रहेका बेलामा उनको जिम्मेबारी खोसिएको हो । आफूविरुद्ध पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको आरोप अध्यक्ष लिङ्देनले लगाएपछि महामन्त्री राणासँग सम्बन्ध चिसिएको छ । राणा पक्षले भने अध्यक्ष लिङ्देन पार्टीमा निरंकुश हुँदै गएको आरोप लगाउन्दै आफ्ना गतिविधि सञ्चालन गर्दै आएको थियो । यसअघि राजनीतिक विभाग प्रमुख रहेका र अहिले राणालाई हटाएर संगठन विभाग प्रमुख बनाइएका तामाङ लिङ्देनका विश्वासपात्र हुन् । उनले आफू विदेश भ्रमणमा जाँदा तामाङलाई कार्यवाहक दिँदै आएका छन् ।

लिङ्देन र राणाको सम्बन्ध राणाको नेतृत्वमा राजसंस्था र हिन्दु राष्ट्रका लागि आन्दोलन समिति गठन गरेपछि भएका गतिविधिले बिगारेको हो । आन्दोलन समितिमा राणाले गरेका कार्यले राणा लोकप्रिय भएको भन्दैलिङ्देन निकटस्थ नेताहरूले आगामी महाधिवेशनमा नेतृत्व हत्याउने भन्दै सचेत रहन सुझाएका थिए । त्यसपछि लिङ्देनले आफ्नै संयोजकत्वमा जनआन्दोलन समिति गठन गरेका छन् । आफू निकटस्थहरूको पार्टीमा समानान्तर गतिविधि चलाउने राणालाई कारबाही गर्र्नुपर्ने दबाब थेग्न नसकेर अध्यक्ष लिङ्देनले राणालाई पदमुक्त गरेको निकटस्थ स्रोत बताउँछ ।

राप्रपाका पूर्वअध्यक्ष तथा हाल निर्देशन समिति अध्यक्ष लोहनीले अध्यक्ष लिङ्देनले अविवेकी निर्णय गरेको आरोप लगाए । ‘बिरामी भएर विदेशमा उपचार गराउँदै गरेका वेलामा महामन्त्री राणालाई संगठन विभाग प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो । बिरामी साथीलाई तनाव दिने काम मात्र हो, यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु,’ लोहनीले भने ।

लिङ्देनले पार्टीको राजनीतिक विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई, उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई स्थानीय तह परिचालन विभागको प्रमुख बनाएका छन् । जिम्मेवारी हेरफेरमा डा. लोहनी र राणा निकट नेताहरूलाई पाखा लगाइएको छ ।

आगामी वर्ष हुने पार्टीको महाधिवेशनलाई केन्द्रविन्दुमा राप्रपामा गुटगत गतिविधि भइरहेका छन् । राणा समूहले नेतृत्व हत्याउने डरले लिङ्देन समूहले पार्टीभित्रका अर्को गुटका नेताहरूबाट जिम्मेवारी खोस्दै आफू निकट नेताहरूलाई दिँदै आएका छन् । राप्रपामा लिङ्देन र डा. लोहनीका छुट्टाछुट्दै गुट छन् । त्यो बाहेक पशुपति शमशेर राणाको पनि अर्को गुट छ ।