रास्वपाले पार्टीको विधान परिमार्जन गर्न बनायो कार्यदल

रास्वपाले पार्टीको विधान परिमार्जन गर्न बनायो कार्यदल


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको विधान परिमार्जनका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ । बिहीबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले कार्यदल गठन गरेको हो । कार्यदललाई ९० दिनको समय दिइएको छ ।

त्यस्तै बैठकले कर्णाली प्रदेशमा अभियान विभागका प्रमुख विपिन आचार्यको नेतृत्वमा विशेष अभियान चलाउने निर्णय गरेको छ । आगामी भदौ दोस्रो साताबाट अभियान चलाउने तयारी रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

समसामयिक राजनीति, कार्यशैली लगायतका विषयमा समीक्षा गर्न क्लोज क्याम्प गर्ने निर्णय गरेको बैठकले अरनिको पाँडेलाई केन्द्रीय सदस्य मनोनित गरेको छ । यसअघि राष्ट्रिय योजना आयोगको सदस्य भएपछि रास्वपा छाडेका पाँडेलाई योजना आयोगबाट राजीनामा दिएपछि पुनः केन्द्रीय सदस्य बनाइएको हो ।