रास्वपाको राष्ट्रिय भेलामा के हुँदैछ ?

रास्वपाको राष्ट्रिय भेलामा के हुँदैछ ?


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला मंगलबारदेखि काठमाण्डुको प्रज्ञा भवनमा सुरु भएको छ ।

बुधवारसम्म चल्ने भेलाको पार्टी सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर उद्घाटन गरे । पहिलो राष्ट्रिय भेलाको उद्घाटन समारोहमा सभापति लामिछानेले दुईतिहाइको बहुमत नल्याउँदासम्म रास्वपा बनाउने अभियानमा निरन्तर जोडिरहन आह्वान गरे ।

उनले आफूले पार्टीको नामदेखि सहकारी प्रकरणसम्म लडिरहनुपरेको उल्लेख गर्दै पार्टी नेता–कार्यकर्तालाई पनि जस्तोसुकै परिस्थितिमा दृढतापूर्वक लडिरहन आग्रह गरे । ‘हामी र हाम्रो पार्टीमाथि निरन्तर प्रहार भइरहने छ । यस्ता आक्रमण तथा प्रहार सामना गर्न तयार रहौं । रास्वपा जित्न र हार्नका लागि नभइ परिवर्तन र प्रेरणाका लागि राजनीतिमा होमिएको हो । हामी लड्यौं भने आफ्नै गोडामा अल्झिएर लड्ने हो अरुले लडाउन सक्ने छैन,’ सभापति लामिछानेले भने ।

उनले इलाममा संगठन र रणनीति बनाउन नसक्दा आफूहरू हारेको स्वीकार्दै आगामी २०८४ सालको निर्वाचनमा बहुमत ल्याउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरे ।

सहकारी सम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका सम्बन्धमा सभापति लामिछानेले आफूलाई लाञ्छाम लाउनेहरूले प्रमाण दिन नसकेको जिकिर गरे । उनले भने, ‘हिजो मात्रै प्रतिवेदन संसदमा पेश भएको छ । थाहा भयो प्रमाण भनेको कस्तो हुन्छ भन्ने कुरा, अब सहकारीको कुरा त सकियो । विषय सहकारीबाट गोर्खा मिडियातिर जान्छ ।’

उनले सरकारमा जान हुँदैन थियो भन्ने कुरा आफूले अहिले आएर महसूस गरेको सुनाए । राष्ट्रिय भेलाको पहिलो दिन मंगलबार कार्यबाहक महामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेश तथा छलफल र बुधबार सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेश हुनेछ । भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ ।

भेलामा देशभरबाट १ हजार ५०० बढी प्रतिनिधि सहभागी छन् । पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन समेत पेश गरिने जनाइएको छ ।

भेलाको दोस्रो दिन बुधबार प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ । बुधबार नै प्रश्नोत्तरका लागि ३ घण्टा समय छुट्याइएको छ भने अपराह्न सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सम्पन्न हुनेछ ।

भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव सोमबार बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको थियो ।