रास्वपामा सभापति बिना केन्द्रीय समिति, नेता बिना दलको बैठक

रास्वपामा सभापति बिना केन्द्रीय समिति, नेता बिना दलको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कुनै पनि औपचारिक बैठक बसेर निर्णय गर्न त्यसको अध्यक्षता गर्ने व्यक्तिको आवश्यकता पर्छ । अझ राजनीतिक दलमा त निर्वाचन कानुनअनुसार पार्टीमा सभापति वा अध्यक्ष एवं संसदीय दलमा दलको नेता निर्वाचित गरिनुपर्छ ।

पार्टीमा सभापति उपस्थित नभए विधानअनुसार दोस्रो वरियताका नेतालाई कार्यवाहक र संसदीय दलमा उपनेतालाई कार्यवाहक तोक्ने गरिन्छ । दुवै स्थानमा आकस्मिक बैठक बस्दा कार्यवाहकले अध्यक्षता गरेर निर्णय गर्छन् ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापति तथा संसदीय दलका नेता रवि लामिछाने सहकारीको बचत अपचलन प्रकरणमा २ कात्तिकदेखि प्रहरी हिरासतमा छन् । उनले न पार्टीमा कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । न संसदीय दलमा उपनेता विराजभक्त श्रेष्ठलाई कार्यवाहक दलको नेताको जिम्मेवारी दिएका छन् ।

उनी प्रहरी हिरासतमा पुगेपछि केन्द्रीय कार्यसमिति बैठक १० कात्तिक र २४ कात्तिकमा गरी दुई पटक बसेको छ । बैठकको अध्यक्षता कार्यवाहक कोही नभएकाले कसैले पनि गरेन । दुवै दिनका बैठकपछि जारी विज्ञप्तिमा कार्यवाहक प्रवक्ता मनिष झाले अध्यक्षताबारे केही उल्लेख गरेका छैनन् ।

आज बिहिबार संसदीय दलको बैठक रास्वपाले बोलाएको छ । दिउँसो साढे एक बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको दलको बैठक पनि कार्यवाहक दलको नेता कोही नभएकाले अध्यक्षबिना बस्ने देखिन्छ । अहिलेसम्म दलका नेता लामिछाने प्रहरी हिरासतमा पुगेपछि दलको बैठक नबसेकाले कसरी बस्ने हो, त्यो भने एकिन भएको छैन ।

प्रतिनिधि सभा सदस्यसमेत रहेका कार्यवाहक प्रवक्ता झालाई कसको अध्यक्षतामा दलको बैठक बस्छ भनेर जिज्ञासा राख्नलाई पार्टीको वेभसाइटमा राखिएको मोवाइल नम्बरमा सम्पर्क गर्न खोज्दा मोवाइलको स्वीच अफ थियो ।

दलको बैठक आह्वान गरिए पनि रास्वपाले एजेण्डा भने सार्वजनिक गरेको छैन ।