काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले सभापति रवि लामिछानेको सांसद पद निलम्बनको विरोध गर्ने निर्णय गरेको छ ।
संसद्को हिउँदे अधिवेशनको तयारीका लागि बुधबार केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारले राजनीतिक प्रतिशोधको आधारमा लामिछानेलाई सम्पत्ति शुद्धीकरणको समेत मुद्दा दायर गरेर सांसदको पद निलम्बन गरिएकाले विरोध जनाउने निर्णय गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
उनले भने, ‘सरकारले राजनीतिक प्रतिशोधका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सांसद रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरणको समेत मुद्दा दायर गरेर जुन उहाँको सांसदको पद निलम्बन गरिएको छ । त्यो संसद्को प्रतिनिधिसभा नियमावलीको विरुद्ध भएको ठहर गर्दै त्यसको विरोध गर्ने निर्णय गरेको छ ।’ बैठकले सरकारले अहिले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेकाले अध्यादेश अस्वीकारको सूचना प्रस्ताव गर्ने पनि निर्णय गरेको उनले बताए ।
सम्पत्ति शुद्धीकरणको मुद्दा संविधान विपरीत रहेको भन्दै उनले आफूहरूले चाँडै न्याय पाउने जनाएका छन् ।
प्रतिक्रिया