काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारविरुद्ध हुने शान्तिपूर्ण प्रदर्शनका कार्यक्रमहरूमा सहभागी भई नेतृत्व लिने र समर्थन गर्ने भएको छ ।
रास्वपा कार्यबाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारविरुद्धका प्रदर्शनहरूमा सहभागी हुने जनाएका छन् ।
रास्वपाले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएकोमा आपत्ति जनाएको छ । विज्ञप्तिमा उल्लेख छ, ‘भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ ।’
दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई अँध्यारोको सकसबाट मुक्त गर्न मुख्य भूमिका निभाएका घिसिङलाई सरकारले बदनियतपूर्वक बर्खास्त गरेको भन्दै रास्वपाले आपत्ति जनाएको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘विद्युत् प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतु सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरूको संरक्षणको शृंखलाअन्तर्गत नै घिसिङमाथि कारबाही गरिएको रास्वपाको निष्कर्ष छ ।’
‘संविधानले नचिन्ने २ दलीय संयन्त्र समेतको सम्मतिमा गरिएका यस्ता जनविरोधी कदमबाट देशमा केही गरौं भन्ने आमयुवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ,’ विज्ञप्तिमा छ, ‘राजनीतिक प्रतिशोध, निषेध एवं झूटा मुद्दाको अनैतिक प्रहार गिर्दो अन्तर्राष्ट्रिय साख, निर्लज्ज एवं असफल कूटनीति र लगभग दुईतिहाइ समर्थनप्राप्त सरकार भ्रष्ट, अकर्मण्य, निरीह, निष्प्रभावी, अनुत्तरदायी र प्रतिशोध केन्द्रित रहेको प्रमाणित भएसँगै वर्तमान सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको छ ।’

प्रतिक्रिया