काठमाण्डु – प्रतिनिधि सभाको चौँथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १६ मंसिरमा भएको स्थानीय तह उपनिर्वाचनमा अपेक्षाअनुरुपको नतिजा निकाल्न सकेन । उपनिर्वाचनमा रास्वपाले उम्मेदवार बनाएका ६ जनाले त १० मत पनि कटाउन सकेनन् ।
रास्वपाबाट उम्मेदवार बनेका ५ वडाध्यक्ष र एक गाँउपालिका उपाध्यक्षले १० मत कटाउन नसकेका हुन् ।
निर्वाचन आयोगले राखेको नतिजा अनुसार महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा रास्वपाका वडाअध्यक्ष उम्मेदवार सुरसैद खाँले ४ मत प्राप्त गरे । तिलगुफा नगरपालिका–४ मा रास्वपा उम्मेदवार गगन बलले ५ मत मात्रै ल्याउन सके ।
रौतहटको ईशनाथ नगरपालिका–७ मा रास्वपा उम्मेदवार शेख असराजले ६ मत प्राप्त गर्दा रोल्पाको रुन्टीगढी गाउँपालिका–४ का उम्मेदवार हिमबहादुर पुनले ७ मत पाए ।
सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेका बाँचा बुढाले अहिलेसम्म ५ मत प्राप्त गरेकी छन् । त्यहाँ मतगणना जारी छ ।
१० मत कटाएर ५० मत नकटाएका उम्मेदवारको संख्या ६ छ । निर्वाचन आयोगका अनुसार रास्वपाबाट धनुषाधाम नगरपालिका–१ को वडाअध्यक्ष उम्मेदवार रामनरेश दासले १० मत पाउँदा ठाकुरबाबा नगरपालिका–४ को वडाअध्यक्ष उम्मेदवार बासुदेव शर्माले १७ मत पाए ।
पूर्वीचौकी गाउँपालिका–६ को वडाअध्यक्षकी उम्मेदवार जानकीकुमारी खड्का (कुँवर) ले ३१, गढी गाउँपालिका–६ को वडाअध्यक्षका उम्मेदवार शशिकुमार साहुले ३३, लालीगुराँस नगरपालिका–८ का वडाध्यक्ष उम्मेदवार सन्जिव खड्काले ३८ र मुसिकोट नगरपालिका–१ को वडाअध्यक्ष उम्मेदवार विकास थापाले ४३ मत ल्याएका छन् ।
उपनिर्वाचनमा रास्वपाले एक पदमा जितेको छ । काठमाडौँ महानगरपालिका–१६ को वडाअध्यक्षमा रोजिना श्रेष्ठ दुई हजार ९०२ मत ल्याएर निर्वाचन जितेकी छन् ।
त्यो बाहेक कुनै पनि क्षेत्रमा रास्वपाका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी हुन सकेनन् ।
प्रतिक्रिया