रास्वपामा कार्यवाहक सभापति को बन्ने भन्नेमा विवाद

रास्वपामा कार्यवाहक सभापति को बन्ने भन्नेमा विवाद

उमेरले वाग्ले र सभापति लामिछानेसँगको निकटताका हिसावले अर्यालको सम्भावना


काठमाण्डु – पार्टी सभापति रवि लामिछाने सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा कार्यवाहक सभापति को भन्ने भन्नेमा विवाद देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०७९ (दोस्रो संशोधन २०८०)मा सभापतिको अनुपस्थितिमा उपसभापतिले कार्यवाहक सभापतिको हैसियतमा काम गर्न सक्ने उल्लेख छ ।

रास्वपामा दुई उपसभापति छन्, डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले । ती मध्य कसलाई कुन योग्यताका आधारमा कार्यवाहक सभापति बनाउने भनेर विधानमा स्पष्ट नलेखिँदा विवाद देखिएको हो ।

विधानको भाग ३(२) को पार्टी उपसभापतिको काम कर्तव्य र अधिकार शीर्षक अन्र्तगतको दफा (घ)मा दुई उपसभापतिमध्य उमेरमा ज्येष्ठ उपसभापतिले वा सभापतिले तोकेको उपसभापतिले सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिका रूपमा सभापतिको कार्य गर्ने भन्ने लेखिएको छ ।

विधान अनुसार उमेरले ज्येष्ठ केही महिनाले वाग्ले छन् । प्रतिनिधि सभा सदस्यसमेत रहेका वाग्लेले संसद्मा पेस गरेको नागरिकतामा आफ्नो जन्ममिति २०३१ जेठ १६ गते रहेको उल्लेख छ । तर, उनी पार्टी स्थापना कालदेखि रास्वपामा थिएनन् । २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा चौँथो ठूलो पार्टी बनेपछि २०८० मा भएको उपनिर्वाचनमा रास्वपा प्रवेश गरी तनहुँबाट उम्मेदवार बन्दै प्रतिनिधि सभामा निर्वाचित भएपछि उपसभापतिमा मनोनयन भएका थिए ।

अर्का पार्टी स्थापना कालदेखिका उपसभापति अर्याल पनि प्रतिनिधि सभा सदस्य हुन् । उनले संसद्मा पेस गरेको नागरिकतामा उनको जन्ममिति २०३१ भदौ ६ उल्लेख छ । नगरिकता अनुसार उनी वाग्लेभन्दा केही महिना कान्छा देखिन्छन् । ज्येष्ठ सदस्य कार्यवाहक सभापति बन्ने वाक्यमात्र उल्लेख गर्ने हो भने वाग्ले बन्ने देखिन्छ ।

तर, पार्टी स्थापना कालदेखिको सदस्य भएकाले अर्यालले दाबी गरिरहेका निकटस्थ स्रोतले बतायो । त्यससँगै अर्याल पार्टीमा लामिछानेका विश्वास पात्र मानिन्छन् । अर्यालले यसअघि लामिछानेको सांसद पद र सभापति नागरिकता प्रकरणमा गएपछि संसदीय दलको नेता र कार्यवाहक सभापतिको भूमिका निभाएका थिए ।

अर्याललाई विधानमा भएको दुई उपसभापति मध्य एक उपसभापतिलाई आफ्नो अनुपस्थितिमा सभापतिले कार्यवाहकको जिम्मेवारी तोक्न सक्ने भन्ने वाक्यांश प्रयोग गरि पत्र दिनुपर्छ । लामिछानेले आफू सहकारीको रकम अपचलन प्रकरणमा पार्टी कार्यालयबाट पक्राउ परे पनि कार्यवाहक कसैलाई नदिएकाले अब को कार्यवाहक बन्ने भन्ने किचलो रास्वपामा सुरु भएको नेताहरू बताउँछन् ।

सरसर्ती हेर्दा अर्याल सभापति लामिछानेका विश्वासपात्र भएकाले कार्यवाहक पाउने सम्भावना छ भने पार्टीको विधानले वाग्ले अर्यालभन्दा कार्यवाहकका लागि बलिया देखिन्छन् ।

त्यसबाहेक रास्वपा विधानमा सभापतिले आफू विदेश गएको अवस्थामा वा आवश्यकता अनुसार उपसभापतिलाई कार्यवाहक तोक्नेछ भन्ने लेखिएकाले लामिछानेले कसलाई तोक्छन् त्यसमा पनि को बन्ने भन्ने निर्भर रहने नेताहरू बताउँछन् ।

अहिले दुवै नेताले आफूले कार्यवाहक पाउनुपर्ने दाबी गरिरहेका बताइन्छ ।

पार्टीमा कार्यवाहक कसले पाउँछ ? भन्ने जिज्ञासा राख्न खोज्दा रास्वपाका कसैले पनि औपचारिक प्रतिक्रिया दिन मानेनन् ।

अनौपचारिक रूपमा बुझ्दा सभापति लामिछाने पुर्पक्षका लागि थुनामा जान्छन् कि जाँदैनन् त्यो बेलासम्म पर्खने सहमति आन्तरिक रूपमा पार्टीभित्र रहेको नेताहरू बताउँछन् ।

प्रहरीले लामिछानेलाई आइतबारमात्रै अनुसन्धानका लागि ६ दिनको म्याद कास्की जिल्ला अदालतबाट थपेको छ । संगठित अपराधमा पनि लामिछानेमाथि अनुसन्धान गर्ने भनिएकाले प्रहरीले उनीमाथि ६० दिनसम्म अनुसन्धान गर्न सक्छ ।