काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका उपसभापतिद्वय स्वर्णिम वाग्ले र डोलप्रसाद अर्यालसहित १९ सांसदविरुद्ध सर्वोच्च अदालतमा अदालतको मानहानी सम्बन्धमा मुद्दा दर्ता भएको छ ।
सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएका नेताहरूमा सांसदहरू मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सोबिता गौतम, अशोककुमार चौधरी, असिम शाह, गणेश पराजुली, चन्दा कार्की, निशा डाँगी, बिन्दबासिनी कंसकार, बिनिता कठायत, लक्ष्मी तिवारी, शिव नेपाली, शिशिर खनाल, सन्तोष परियार र हरि ढकाल छन् ।
सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान भइरहेका बेला रास्वपाले गरेको आन्दोलनले अदालतको अवहेलना भएको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा मुद्दा दर्ता गरेका हुन् ।
अनुसन्धान चलिरहेका बेला अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको आरोप लगाइएको रिटको मंसिर ३ गतेका लागि पेसी तोकिएको छ।
कात्तिक १४ गते सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको रिट निवेदक भट्टराईले कात्तिक २१ गते इजलासमा पेस गरेपछि पहिलो सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको इजलासले दरपीठ बदर गरिदिएपछि दर्ता भएको हो ।
सूर्यदर्शन सहकारी ठगी आरोपमा सभापति रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा पुर्याइएकै दिनदेखि रास्वपाले पोखरालगायत स्थानमा विरोध प्रदर्शन गरिरहेको छ। नेताहरूले आफ्ना सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा गिरफ्तार गरिएको आरोप लगाउँदै आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया