राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सभापति लामिछानेको पक्ष/विवक्षमा नेताहरूको ध्रुवीकरण

राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सभापति लामिछानेको पक्ष/विवक्षमा नेताहरूको ध्रुवीकरण

महामन्त्री डा‍. ढकालको प्रतिवेदनले विवाद सतहमा


काठमाण्डु – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा देखिएको विवाद सतहमा आएको छ । महामन्त्री तथा पार्टी प्रवक्ता डा. मुकुल ढकालले जिल्ला दौडाहापछि पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनपछि पार्टीभित्रको विवाद सतहमा आएको हो ।

स्थापनाको दुई वर्षमै पार्टीभित्रको विवाद सतहमा आएपछ भविश्य के हुने भन्ने प्रश्न पनि उब्जिएको छ । २०७९ असार ७ गते स्थापना भएको रास्वपाले त्यसको ५ महिनापछि भएको निर्वाचनमा २० सिट जितेर राष्ट्रिय राजनीतिमा हलचल ल्याएको थियो । अहिले महामन्त्री डा. ढकालको प्रतिवेदनपछि पार्टीभित्र थप हलचल आएको छ ।

रातारात उदय र उचाइ बनाएको रास्वपाभित्र अहिले त्यस्तै रफ्तारमा विवाद, संकट र समस्या देखिएका छन् । यसअघि नेताको तहमै सीमित रहेका पार्टीभित्रका बेथिति र असन्तुष्टि अहिले छताछुल्ल भएका छन् । स्थापनाकालदेखि लामो समयसम्म सभापति लामिछानेका विश्वासपात्र डा. ढकालले देशभर डुलेर सभापतिलाई बुझाएको प्रतिवेदनपछि नेताहरूबीच ध्रुवीकरण बढेको छ र पक्ष-प्रतिपक्षमा नेताहरू देखिएका छन् ।

डा.ढकालले प्रतिवेदनले पार्टीको वस्तुस्थिति चित्रण गरेकाले सार्वजनिक गर्नुपर्ने बताएका छन् । ‘पार्टी दुर्घटनाउन्मुख छ’ भनेर नागरिकले व्यक्त गरेका धारणा प्रतिवेदनमा उल्लेख गरेको बताएका छन् । उनले आफूले गर्दै नगरेको कामको दोष थोपरेर घृणित राजनीति गरेको भन्दै रास्वपामा चरम गुटबन्दीको अभ्यास भएको उल्लेख गर्न भ्याएका छन् ।

उनले भनेजस्तै रास्वपामा चरम गुटबन्दी देखिएको छ । सभापति लामिछानेसँग महामन्त्री ढकाल, सांसदहरू विराजभक्त श्रेष्ठ, सन्तोष परियार, तोसिमा कार्की, सोविता गौतम असन्तुष्ट रहेको निकटस्थहरू बताउँछन् । कार्की र गौतमले संसदमा पार्टीले भूमिका नदिएदेखि असन्तुष्टि जनाउँदै आएका छन् । नेताहरूका अनुसार उपसभापति स्वर्णिम वाग्ले र शिक्षामन्त्री सुमना श्रेष्ठ पनि लामिछानेसँग असन्तुष्ट छन् । असन्तुष्टहरू प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्नुपर्ने बताउँदै आएका छन् ।

उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष दीपकराज बोहोरासहितका नेता भने प्रतिवेदन सार्वजनिक गर्न नहुने बताइरहेका छन् । लामिछाने निकटका उनीहरूले प्रतिवेदन सार्वजनिक भए पार्टीलाई अफ्ट्यारो पर्ने धारणा राखिरहेका छन् ।

ढाकाकुमार श्रेष्ठलाई समानुपातिक सांसद बनाउँदा आर्थिक लेनदेन, सभापतिकै नागरिकता तथा पासपोर्ट, सहकारी ठगी प्रकरणबाट लामिछानेसँग धेरै नेता असन्तुष्ट रहँदै आएका छन् । सहकारी प्रकरणमा लामिछानेमाथि गम्भीर प्रश्न उठेदेखि दलका उपनेता एवं अहिलेका खेलकुदमन्त्री श्रेष्ठ असन्तुष्ट थिए । उनले सामाजिक सञ्जालमा सलाइको काँटी लहरै राख्दै एउटा जल्दा सबै खरानी हुने संकेत सभापतिलाई लक्षित गरेर भनेका थिए ।

ढकालले प्रतिवेदनमा गम्भीर कुरा उठाउँदा महामन्त्री पदको पनि पर्वाह नगरेको बताएपछि पार्टीभित्र विवाद छ भन्न अन्य कुनै प्रमाण खोज्नु पर्ने अवस्था देखिन्न । ‘मैले यसरी बोल्दा मसँग रिसाउने, मलाई हटाउने हुन सक्ला । सहदेवको जसरी मृत्यु हुन सक्छ । व्यक्तिको मृत्यु होला, महामन्त्री पदको पनि मृत्यु हुन सक्छ । म रहुँ वा नरहुँ, देश बाँच्नुपर्छ । म नरहे पनि पार्टी बाँच्नुपर्छ,’ ढकालले भनेका छन्, ‘महामन्त्रीलाई पनि बोल्न आउँछ । प्रश्न मलाई मात्रै किन आउँछ ? प्रश्न सबैलाई गर्नुपर्छ । के प्रश्न उठाउनका लागि पार्टीमा म मात्र पात्र हुँ ?’

लमिछाने निकटका नेताहरू भने ढकाललाई दोषारोपण गरिरहेका छन् । लामिछाने निकट सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले महामन्त्री ढकालले प्रतिवेदनमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चिढ्याएर नराम्रो काम गरेको बताएका छन् । ‘अहिलेको सरकारमा जानुपर्छ भनेर प्रस्ताव राख्नुभएको महामन्त्रीजीले नै हो। उहाँकै प्रस्तावअनुसार सरकारमा गएको हो,’ सहमहामन्त्री बुर्लाकोटीले भने, ‘उहाँले केपी–प्रचण्डलाई मिडियामार्फत् चिढ्याउन पर्दैनथ्यो। चिढ्याएर फाइदा छैन भन्नेकुरा सबैलाई थाहा छ । उहाँले त पार्टीको आन्तरिक छलफल गरेर अब उपयुक्त समयमा सरकारबाट एक्जिट हौँ भनेर पो भन्नुपर्थ्यो ।  मिडियाबाट किन चिढ्याउनु पर्थ्यो र !’

लमिछानेको आलोचना गर्नेहरू भने प्रतिवेदनलाई सरकारात्मक भनिरहेका छन् । पार्टी विधि, विधान र पद्धतिभन्दा सनकको भरमा चल्यो भनेर सार्वजनिकरूपमै प्रश्न उठाउँदै आएका केन्द्रीय सदस्य गणेश कार्कीले महामन्त्री पनि आफ्नै बाटोमा आएको बताएका छन् । पार्टी कोही व्यक्तिको अस्तित्व र गल्तीको भारीमा थिचिएर नसकिने भन्दै कार्कीले गल्तीलाई सुधारेर पार्टी बन्ने दिशामा रास्वपा अगाडि बढ्नुपर्ने बताउँछन् ।

डा. ढकालले प्रतिवेदन बुझाउँदै निलो घण्टी अहिले कालो देखिन थालेको बताएका छन् । ‘आशाका साथ जनताले विश्वास गरेका थिए । तर, आशा नदेखिको हो कि जस्तो देखिन्छ । बादल मडारिएको छ । घण्टी केही कालो देखिएको छ । तर, घण्टी निलो नै छ भनेर देखाउनुपर्छ,’ ढकाल भने । ढकालले यो बाटोबाट नसच्चिए अर्को चुनावमा १/२ सिट पनि जित्न नसक्ने कठोर टिप्पणी गरेपछि विवाद रहेको झन प्रष्ट भएको छ ।

प्रतिवेदन बुझेपछि सभापति लामिछानेले अहिलेसम्म पार्टी एक हिसाबले अगाडि बढे पनि अब यही रूपमा अघि बढाउन नसकिने बताए । ‘पार्टीलाई ठीक ढंगले कसरी लग्ने भन्ने पार्टीभित्रको चिन्ता हो । रास्वपाले गम्भीर समीक्षा गर्छ,’ लामिछानेले प्रतिवेदन बुझ्दै भने, ‘आफ्नो नागरिकले भनेको नमान्ने, आन्तरिक लोकतन्त्रलाई प्रमोट नगर्ने, देखिएका कमी कमजोरी लुकाउने, आफ्नो नेताले जे गरे पनि जिन्दावाद भन्ने पार्टी होइन रास्वपा, यो भएन, ठीक भएन भनेर पार्टीभित्र निर्मम समीक्षा हुन्छ । आफूले आफैंलाई समीक्षा गरेनौं, पर्दा राखेर बस्यौं भनेर कहिल्यै पार्टी माथि जाँदैन ।’