सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै


काठमाण्डु-सरकार गठन भएको झण्डै दुई महिनापछि पहिलो पटक सत्तारूढ दलहरूको बैठक बस्दैछ ।

बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच हिजो छलफल भएपछि सत्तारुड दलको बैठक बोलाइएको हो ।

असार ३१ गते गठन भएको सरकारमा एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् । यद्यपि, ओली नेतृत्वको सरकारलाई जसपा नेपाल र जनमत पार्टीले पनि समर्थन गरेका छन् ।

कांग्रेस र एमालेले सरकारका न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल बनाउने सहमति गरेका छन् । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशरण महत छन् । यस्तै एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।