रुसको कुस्र्क क्षेत्रमा युक्रेनी सेनाको ठूलो हमला

रुसको कुस्र्क क्षेत्रमा युक्रेनी सेनाको ठूलो हमला


काठमाण्डु-रुसको कुस्र्क क्षेत्रमा आक्रमण जारी राख्दै युक्रेनले सेम नदीमा रहेको पुल भत्काइदिएको छ ।

रुसी अधिकारीहरूलाई उद्धृत गर्दै यस हमलामा ग्लुसकोवो सहरनजिकै युक्रेनी सेनाको यो कारबाहीका कारण सहरको एक भाग अन्य स्थानबाट सम्पर्क विच्छेद भएको बताइएको छ ।

बीबीसीका अनुसार युक्रेनी सेनाले भत्काएको उक्त पुल रुसी सैनिकलाई अत्यावश्यक सामान आपूर्ति गर्न प्रयोग भइरहेको थियो । तर अहिले पुल भत्किएपछि यो अवरुद्ध हुन सक्छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सैनिकले कुर्स्कमा आफ्नो स्थिति बलियो बनाउँदै लगेको बताएका छन् । जेलेन्स्कीका अनुसार कुस्र्क क्षेत्रको बदलामा युक्रेनले रुसलाई युक्रेनी भूभागमाथिको आफ्नो कब्जा त्याग्न पनि माग गर्न सक्छ ।

यसअघि युक्रेनका शीर्ष कमान्डर ओलेक्जेन्डर सिर्स्कीले युक्रेनी सेनाले रुसको कुस्र्क क्षेत्रमा आफ्नो सैन्य कार्यालय स्थापना गरेको बताएका थिए ।

उनका अनुसार सेनाले यस कार्यालयबाट रुसमा हमला जारी राखेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओमा जनरल सिस्र्कीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा यो कार्यालय बनाइएको बताएका छन् ।

युक्रेनको यो कदमप्रति प्रतिक्रिया दिँदै रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले कुर्स्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने चेतावनी दिएका छन् ।

युक्रेनी सेना कुर्स्क क्षेत्रमा ३५ किलोमिटरभित्रसम्म प्रवेश गरेका छन् । यो युक्रेनले रुसमाथि गरेको अहिलेसम्मकै सबैभन्दा खतरनाक आक्रमण हो ।