काठमाण्डु-विश्वको सबैभन्दा ठूलो टेक कम्पनीलाई रुसले अथाह रकमको जरिवाना तोकेको छ ।
रुसको एक अदालतले युट्युबमा रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा गुगलमाथि ठुलो परिमाणको जरिवाना तोकेको हो । जरिवानाको रकम गन्न पनि गाह्रो छ ।
समाचार संस्था सीएनएनका अनुसार रुसको अदालतले २.५ अण्डसिलियन रुबल अर्थात् २५ डेसिलियन अमेरिकी डलर जरिवानाको फैसला गरेको हो ।
एक अण्डसिलियनमा १ पछि ३६ वटा शून्य हुन्छन् । अर्थात् रुसी अदालतले गुगललाई २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० अमेरिकी डलर जरिबाना तिर्न फैसला गरेको हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्याङ्क अनुसार ११० ट्रिलियन डलरमा विश्वको कुल गार्हस्थ उत्पादन तुलनात्मक रूपमा सामान्य देखिन्छ । गुगल पेरेन्ट अल्फाबेटको बजार मूल्य लगभग २ ट्रिलियन डलर छ ।
यो धनराशि गुगलको पूरै सम्पत्ति बेचेर पनि पुग्दैन । यो रकम यति धेरै हुन्छ कि पूरै पृथ्वीभरको पैसा थुपार्दा पनि त्यस्तो रकम पुग्दैन ।बेलायती गन्तीमा भने १ को पछाडि ६० वटा जिरो थप्नुपर्छ । सारा पृथ्वीको पैसा एक ठाउँमा थुपार्दा पनि यो रकम पुग्दैन । यो विश्वभरको कूल जीडीपी भन्दा पनि धेरै छ । विश्वभरको कूल जीडीपी जोड्दा १०० ट्रिलियन डलर हुन्छ ।
अदालतले जरिबाना रकम तिर्न गुगललाई ९ महिनाको समयसीमा दिएको छ । यदि ९ महिनाभित्र पनि तिर्न नसकेमा जरिबाना रकम दैनिक दोब्बर हुने पनि अदालतले फैसला सुनाएको छ ।
गुगलले रुसका केही सञ्चार माध्यमहरूमाथि प्रतिबन्ध लगाएको थियो । ती सञ्चार माध्मयको सूचीमा रुसका सरकारी सञ्चार माध्यम पनि थिए । रुसको राष्ट्रवादी भनिने च्यानल जारग्रेडलाई गुगलले युट्युबबाट हटाइएको थियो । जारग्रेड च्यानलका प्रमुखलाई अमेरिकाले प्रतिबन्ध समेत लगाएको थियो । त्यसपछि मिडियाहरूले गुगलविरुद्ध अदालतमा मुद्दा हालेका थिए ।
रुसी अदालतले गुगललाई प्रतिबन्ध लगाइएका च्यानललाई फुकुवा गर्न भनेको छ । साथै जरिबाना रकम तिरिसकेपछि मात्रै रुसी बजारमा गुगललाई प्रवेश दिने जनाएको छ ।
यद्यपि गुगल हाल रुसमा कुनै पनि प्रकारको व्यापार गर्दैन । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि गुगलले रुसमा आफ्ना सबै गतिविधि बन्द गरेको थियो ।
प्रतिक्रिया