डोनाल्ड लुलाई विस्थापित गर्दै एस पल कपुर अमेरिकाको सहायक विदेशमन्त्री बन्दै

डोनाल्ड लुलाई विस्थापित गर्दै एस पल कपुर अमेरिकाको सहायक विदेशमन्त्री बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तान सुरक्षा र आणविक विषयका विज्ञ भारतीय मूलका एस पल कपुरलाई दक्षिण तथा मध्य एसियाका लागि सहायक विदेशमन्त्रीमा नियुक्त गर्ने भएका छन् ।

अमेरिकाको सहायक विदेशमन्त्री कूटनीतिक शाखामा यस क्षेत्रको लागि शीर्ष पद हो । अमेरिकी सिनेटले कपुरलाई नियुक्त गर्ने प्रस्ताव पारित गरेपछि कपुरले अहिलेका सहायक विदेशमन्त्री डोनाल्ड लूलाई प्रतिस्थापन गर्नेछन् ।

लु अमेरिकी विदेश मन्त्रालयका प्रभावशाली सहायकमन्त्री मध्येका हुन् । उनले आफ्नो कार्यकालमा ४ पटक नेपालको भ्रमण गरिसकेका छन् । पछिल्लोपटक उनी यसै वर्ष मंसिर २३ गते नेपाल आएका थिए । त्यसअघि लु ले असार २९ गते पनि नेपालको भ्रमण गरेका थिए ।

त्यसअघि उनी नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने चरणमा रहेको समयमा पनि लगातार नेपाल आएका थिए ।

अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुने विषयमा संवाद गर्न पनि लु नेपाल आइपुगेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी प्रस्तावलाई अस्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्बाटै पारित गरेपछि उनी त्यसको केही समयपछि नै नेपाल आइपुगेका थिए ।

एमसीसी पारित हुने विषयमा नेपालमा चर्को बहस भइरहेको अवस्थामा २०७८ माघ २७ गते लुले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकै दिन टेलिफोन सम्वाद गरेर धम्की पनि दिएका थिए ।

संवाद भएको करिब दुई हप्तापछि १५ फागुन २०७८ मा नेपालको संसदले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको थियो ।

अमेरिकी विदेश मन्त्रालयमा ३० वर्षभन्दा बढी समय सेवा गरेका डोनाल्ड लु सन् २०२१ को १५ सेप्टेम्बरमा अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एसियाली मामिलाको ब्यूरोमा सहायक विदेशमन्त्री नियुक्त भएका थिए ।

अमेरिकाको राष्ट्रिय सुरक्षा मामिला विभागका प्राध्यापक पनि रहेका कपूरले राष्ट्रपति ट्रम्पको अघिल्लो कार्यकालको अन्तिम वर्षमा विदेश विभागको नीति योजना टोलीमा सेवा गरेका थिए । जहाँ उनले दक्षिण एसियामा पनि काम गरेका थिए ।

२०२३ मा लेखेको एक आलेखमा कपुरले अमेरिका–भारत रणनीतिक साझेदारीको बारेमा व्याख्या गरेका थिए । आलेखमा उनले भनेका छन्, ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्र सुनिश्चित गर्दै बढ्दो चिनियाँ शक्तिलाई सन्तुलनमा राख्नु पर्छ ।’