साग विजेता खेलाडीलाई आज नागरिक अभिनन्दन

साग विजेता खेलाडीलाई आज नागरिक अभिनन्दन


काठमाडौं – राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सागका विजेतालाई उपत्यकाका विभिन्न नगर परिक्रमा गराउने भएको छ ।

काठमाडौंमा सम्पन्न १३ औंदक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत विभिन्न खेलकुदमार्फत सागमा सहभागी विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मानस्वरुप नगर परिक्रमा गराई नागरिक अभिनन्दन गराउन लागिएको राखेपले जानकारी दिएको छ ।

अहिले बिहान ११ बजेबाट नगरपरिक्रमा कार्यक्रम सुरु हुँदैछ । जसअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरबाट सुरु हुने नगर परिक्रमा न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछ । परिषद्का अनुसार, खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दन त्यहाँबाट पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेप प्रांगणमा आएर समापन हुनेछ ।

प्रतियोगितामा नेपालले अहिलेसम्मकै धेरै ५१ स्वर्ण पदक जितेको थियो । विजेता खेलाडीको सम्मानमा नगद पुरस्कार घोषणा गरिसकेको सरकारले आज नागरिक अभिनन्दनसमेत गर्न लागेको हो ।