बझाङ – जयपृथ्वी राजमार्गमा मंगलबार रातिदेखि अविरल वर्षाबाट आएको बाढी र पहिरोका कारण ठाउँ ठाउँमा सडक अवरुद्ध भएको छ ।बाटो अवरुद्ध भएपछि जिल्ला भित्रिने र बाहिरिने यात्रु र सवारी साधनहरु बाटोमै अलपत्र परेका छन् ।
कतिपय यात्रु हिँडेरै आ-आफ्ना गन्तव्यतिर लागेका छन् । यिनै यात्रुमध्येका एक थिए, पूर्वसांसद अफिलाल ओखेडा । सोमबार साँझ धनगढीबाट सार्वजनिक बसको यात्रा गर्दै बझाङ आइपुगेका ओखेडालगायत यात्रु केदारस्युँ गाउँपालिकाको नारुगाडमा आएर रोकिए । नारुगाड खोलामा आएको बाढी सडकमा पसेका कारण झण्डै आधा किलोमिटर सडक जलमग्न भएको थियो ।
गाडी चल्न नसक्ने भएपछि जिल्लामा तय गरिएको भेटघाटको हतारोमा रहेका ओखेडाले जँघार तरेर सडक पार गर्ने आँट गरे । पानी दर्किरहे पनि उनले पटक पटक चिप्लिँदै खोलाजस्तै बनेका सडक पार गरे । पूर्वसांसद चिप्लिन लाग्दा अन्य यात्रुहरु हाँस्दै मुखामुख गर्थे । कतिपय यात्रु उनको कार्यकालमा जिल्लाबाट ५र५ जना सांसद हुँदा पनि सडकको अवस्था सुधार गर्न नसकेको भन्दै ‘खुच्चिङ’ भनिरहेका थिए ।
कतिपय नेता आफैंले दुख भोगेपछि केही गर्छन् कि भन्ने आस व्यक्त समेत गरे । ‘पुर्वसांसद आफैं चिप्लिएका छन् । अब सुधारको प्रयास गर्छन् कि ?’ थलाराका दीनराज जोशीले भने । चैनपुरका दिवस स्नेहीले त्यसैमा व्यंग्य थपे, ‘खोलो तर्दासम्म दुख रै’छ भन्ने सम्झिन्छन् । वारि आइसकेपछि भुली हाल्छन् ।’ कतिपयले एक दुई जना सांसद बगाएको भए सरकारको ध्यान जान्थ्यो कि भन्नसमेत भ्याए ।
पूर्वसांसद ओखेडाले बझाङको सडकको हालतबारे पहिलेदेखि नै जानकार रहेको र सुधारको विषयमा जहिल्यै धेरै प्रयास गरेको दाबी गरे । ‘सरकार सदन सबैतिर कुरा उठाएकै हो’ उनले भने ‘ जयपृथ्वी राजमार्गलाई कम्तीमा दुइलेनको बनाइदिनुस् । साह्रै जोखिम भएको ठाउँमा सुधारको योजना हालिदिनु भनेर पटक पटक मन्त्रालय धाएको छु ।
बैशाख १४ गतेयता मात्र जयपृथ्वी राजमार्ग १८ पटकभन्दा बढी अवरुद्ध भइसकेको छ । बझाङलाई बाहिरी जिल्लासँग जोड्ने एकमात्र यो सडक पटक पटक अवरुद्ध हुँदा स्थानीयले निकै नै सास्ती भोग्नु परेको छ । तराईका जिल्लाबाट खाद्यान्न, लत्ताकपडा, औषधि, नुनतेल र निर्माण सामाग्री यही सडक भएर बझाङ भित्र्याइन्छ । त्यसैले यो राजमार्ग जिल्लाको ‘लाइफलाइन’ मानिन्छ ।
तीन वर्षअघि कालोपत्र गरिएको यो सडक र अन्दाधुन्द निर्माण गरिएका अरु ग्रामीण शाखा सडकहरु जुनसुकै बेला बन्द हुने अवस्थामा छन्, । २०७४ असारदेखि भदौसम्ममा यो राजमार्ग ३८ दिन अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध हुँदा जिल्लामा उपचार सम्भव नभएर बाहिर ‘रेफर’ गरिएका पाँच जनाको बाटैमा मृत्यु भएको थियो ।
प्रतिक्रिया