साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दै

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दै


काठमाण्डु-साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न घरेलु टोली नेपालले आज भारतसँग खेल्दैछ ।

खेल दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरु हुनेछ । नेपाली महिला टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा लगातार दोस्रोपल्ट भारतसँग खेल्न लागेको हो ।

दुई वर्षअघि दशरथ रङ्गशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएर फाइनलमा पुगेको थियो । साफ च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक थियो । यसपटक नेपाल र भारत तथा साविकको उपाधि विजेता बङ्गलादेश र भुटानले सेमिफाइनलमा खेल्न लागेका हुन् ।

बङ्गलादेश र भुटानले फाइनलमा पुग्न दिउँसो साढे एक बजे दशरथ रङ्गशालामा खेल्नेछन् । अघिल्लो संस्करणमा बङ्गलादेशले घरेलु टोली नेपाललाई ३–१ गोलले हराएर उपाधि जितेको थियो ।

सेमिफाइनलमै भारतलाई रोक्न सके साफ इतिहासमा पहिलो उपाधि जित्न उच्च मनोबल बढ्ने नेपाली टोलीको विश्वास छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताअघि नै आफ्नो लक्ष्य उपाधि जित्ने रहेको बताए ।

अहिलेसम्मको प्रदर्शन हेर्दा नेपाली टोली ठ्याक्कै कुन अवस्थामा छ भन्न सकिँदैन । किनभने नेपालको क्षमता मैदानमा बलियो टोलीविरुद्ध प्रस्फुटन हुन पाएको नै छैन ।

पहिलो खेलमा पाकिस्तानविरुद्ध सहज जित निकाले पनि बाङ्लादेशँगको हारले भारतलाई आफू कुन स्थितिमा छ मूल्यांकन गर्न मद्दत मिलेको छ । त्यसले पनि भारतीय टोलीका मुख्य प्रशिक्षक सन्तोष कश्यपलाई केही सहज हुनेछ ।

पाँच पटकको उपविजेता नेपाल उत्साही हुने भनेको घरेलु दर्शकको बलियो साथले हो । यसले भारतलाई केही असहज परिस्थिति सिर्जना गर्न सक्छ ।