साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै


काठमाण्डु-सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुने उद्घाटन खेलमा भारत र पाकिस्तान खेल्दैछन् ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् ।

प्रतियोगिता अन्तर्गत नेपालले शुक्रवार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले पाँच पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले एक पटक उपाधि जितेको छ ।