साफ महिला च्याम्पियनसिप आज भारत र बंगलादेश भिड्दै

साफ महिला च्याम्पियनसिप आज भारत र बंगलादेश भिड्दै


काठमाण्डु-साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह ‘ए’को अन्तिम खेलमा साविक विजेता बंगलादेशले भारतको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

भारत यसअघघि नै समूह ‘ए’ बाट सेमिफाइनल पुगिसकेको छ । आजको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।

भारतले च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले पराजित गरेको थियो । त्यसपछि बंगलादेश र पाकिस्तानले १–१ गोलको बराबरी खेले । यस खेलको नतिजाले भारतलाई एक खेल अगावै सेमिफाइनलमा पुर्‍याएको हो ।

बंगलादेशको लागि सेमिफाइनल पुग्न भारतसँग हार टारे पुग्नेछ । भारत जित वा बराबरीले समूह विजेता बन्नेछ । यही बंगलादेश विजयी भए बंगलादेश समूह विजेता र भारत समूह उपविजेताको रुपमा सेमिफाइनल पुग्नेछ ।

यस खेल बंगलादेशको लागि मात्र नभएर पाकिस्तानको लागि समेत महत्वपूर्ण छ । भारतले बंगलादेशलाई फराकिलो गोल अन्तरले पराजित गरे पाकिस्तानको अगाडीको बाटो खुल्नेछ ।

यही तीन वा बढी गोल अन्तरले बंगलादेश भारतसँग पराजित भएमा पाकिस्तानको सेमिफाइनल ढोका खुल्नेछ । त्योभन्दा कम अन्तरमा बंगलादेश पराजित भएमा भने बंगलादेश नै सेमिफाइनल पुग्नेछ र पाकिस्तान बाहिरिनेछ ।