सगरमाथा चढ्ने इच्छा थियो, भूमिगत र जेल जीवनले दिएन : प्रधानमन्त्री ओली

सगरमाथा चढ्ने इच्छा थियो, भूमिगत र जेल जीवनले दिएन : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोही महिला पत्रकारलाई सम्मान गरेका हुन् । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुलाई सम्मान गर्दै सगरमाथा चढेको मनोबललाई अन्य साहसी काममा लगाउन आह्वान गरे । उनले भने, “एक पटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ ।”

हिमाल आरोहणमा कहिले पनि लापर्वाही गर्न नहुने उनको भनाइ थियो । “हिमाल आरोहणलाई मजाकको विषय बनाउनु हुँदैन, स्वास्थ्यले साथ नदिए वा बढ्ता जोखिम मोलेर जानु हुँदैन, स्वास्थ्य ठीक भएपछि वा जोखिम घटेपछि पुनःआरोहणको प्रयास गर्नुपर्छ, सफलता पाइन्छ,”, उनले भने ।

उनले आफूलाई सगरमाथा आरोहणको रहर भए पनि युवावस्थामा राजनीति गर्दा भूमिगत बस्नुपरेको कारण स्वास्थ्य स्थिति नाजुक भई चढ्न नसकेको बताए । “मलाई पनि सगरमाथा चढ्ने इच्छा थियो, भूमिगत जीवन, जेल जीवनले पाइन, जब जेलबाट छुटेँ, पछि कमजोर स्वास्थ्यले दिएन”, प्रधानमन्त्री ओलीले भने ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, उपप्रधानमन्त्री ईश्वर पोखरेल, सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेकपाका महासचिव विष्णुप्रसाद पौडेललगायतले पनि आरोहि महिला पत्रकारहरुलाई सम्मान गरेका थिए ।