काठमाण्डु – राष्ट्रिय सहकारी महासंघले सहकारीको ब्याजदर पुनरावलोकन गर्न माग गरेको छ । महासंघका अध्यक्ष मिनराज कडेलले मंगलबार विज्ञप्ती जारी गर्दै बजारमा ब्याजदर बृद्धि भएको सन्दर्भमा सहकारीको ब्याजदर पुनरावलोकन नभए सहकारी संघ,संस्थाहरुको व्यवसाय प्रभावित भई देशको अर्थतन्त्रमा नै असर पर्ने बताएका छन् ।
विज्ञप्तिमा तत्काल निर्णय नभए उत्पन्न हुने असहज परिस्थितिप्रति जिम्मेवार नहुने समेत चेतावनी दिइएको छ । यसअघि सहकारीको ब्याजदर १६ प्रतिशत पुगेको थियो । ब्याजदरलाई पुनरावलोकन गरेर पछी १४.७५ सम्म झारिएको थियो । महासंघले अधिकतम ऋणको व्याजदरको सिमा १७ प्रतिशत तोक्न माग गरेको छ ।
सहकारी महासंघले वित्तीय वजारमा देखा परेको उतार चढावका कारण बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भई बचतमा दिने ब्याजदरमा बृद्धि गरेसंगै क्यापिंगका रुपमा कायम भएको १४.७५ प्रतिशत अहिलेको ब्याजदरका कारण सहकारीको सम्पत्ति दायित्व व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको जनाएको छ ।
सहकारी महासंघले फागुन ३ गते सहकारी विभागका रजिष्ट्रारलाई सहकारीको ब्याजदर पुनरावलोकन गर्न ध्यानाकर्षण पत्र समेत बुझाइसकेको छ ।
प्रतिक्रिया