काठमाण्डु – सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै तयार भएको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ । सभापति एमाले सांसद सूर्यबहादुर थापाले प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेका हुन् ।
सभापति थापाले पार्टी भन्दामाथि उठेर तथ्यमा आधारित प्रतिवेदन बनाइएको जानकारी प्रतिनिधिसभालाई दिए । प्रतिवेदनबारे जानकारी दिँदै सभापति थापाले ६६ वटा बैठक गरिएको र उक्त बैठकमा पीडितदेखि प्रधानमन्त्रीसम्मलाई बोलाएर छलफल गरिएको जानकारी दिए ।
‘प्रतिवेदनमा दोषीहरूलाई आफ्नो कारबाही र अपराधका भागिदार बनाउने सुझाव निष्कर्ष र सिफारिस छन्,’ भापति थापाले भने । प्रतिवेदन १८ परिच्छेदमा छ । प्रतिवेदनमा सबै सदस्यले हस्ताक्षर गरेका छन् ।
१५ जेठमा गठन भएको संसदीय विशेष समितिको २२ जेठमा पहिलो बैठक बसेको थियो । तीन महिना अवधि पाएको समितिले तोकिएको समयमा काम नसकिएपछि थप १५ दिन समय पाएको थियो ।
समितिले सहकारी ठगीसँग सम्बन्धित विषयको अध्ययन, विभिन्न व्यक्तिहरुसँग सोधपुछ गरेर प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा कसैले पनि फरक मत लेखेको छैन, सबै निर्णय सर्वसम्मत भएका छन् ।
संसदीय समितिले जीबी राई समूहले चलाएको सहकारीबाट गोर्खा मिडियामा रकम गएको देखिएको बताएको छ ।
प्रतिक्रिया