स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रम्तेललाई काठमाडौँ ल्याइयो, रवि र छबिलाई कहिले ?

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रम्तेललाई काठमाडौँ ल्याइयो, रवि र छबिलाई कहिले ?


काठमाण्डु – सहकारीको रकम अपचलन प्रकरणमा कारागार कार्यालय कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई प्रहरीले काठमाडौँ ल्याएको छ । बचतकर्ताको रकम अपचलनमा संलग्न आरोपमा जिल्ला कारागार कास्कीमा थुनामा रहेका सूर्यदर्शन सहकारीको कोषाध्यक्ष रम्तेललाई कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान गर्न काठमाडौँ ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

रम्तेल स्वर्णलक्ष्मी सहकारीका पनि कोषाध्यक्ष रहेकाले सो सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा १ करोड ८२ लाख अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएका छानबिनका लागि ल्याइएको हो ।

६४५ जना बचतकर्ताले आफूहरूको बचत अपचलन भएको जाहेरी प्रहरीमा दिएपछि रम्तेलसहित पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई अनुमति दिएका हुन् ।

लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । यो प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसहित करिब दुई दर्जनविरुद्ध पक्राउ पुर्जी आएको छ ।

रम्तेलपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई पनि काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ । रम्तेलको बयान सकिएपछि रवि र छविलाई काठमाडौं झिकाएर बयान गराइने परिसर स्रोतले जानकारी दियो ।

स्वर्णलक्ष्मीको रकम अपचलनबारे प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो । लामिछाने पक्राउ परेपछि फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ ।