काठमाण्डु – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध सहकारी ठगीमा जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ ।
मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा कोइरालासहित २६ जनाविरूद्ध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
जिल्ला अदालत मोरङमा बिहीबार सरकारी वकिलको कार्यालयले २६ जनाविरूद्ध मुद्दा दायर गरेको हो।
उनीहरूविरूद्ध अहिले सहकारीको बचत रकम अपचलनमा मात्रै मुद्दा दायर भएको हो। सरकारी वकिल कार्यालयका अनुसार सहकारीको २२ करोड बिगो मागदाबी गरिएको छ।
अञ्जला सहकारीकी पूर्व सञ्चालक हुन् । उनीसहित सहकारीका अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियार, उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंहलगायत फरार छन्।
उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।
प्रतिक्रिया