काठमाण्डु- पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीहरूको बयान आज पनि जारी रहनेछ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की जिल्ला अदालतले गत सोमबारदेखि प्रतिवादीहरूसँग बयान लिइरहेको छ । बुधबार क्रिसमस डेको सार्वजनिक बिदा भएकाले बयान भएन ।
बिहीबारदेखि पुनः बयान थालिने जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । सहकारी प्रकरणमा अहिलेसम्म छविलाल जोशीको मात्र बयान सकिएको छ । मंगलबार जोशीको बयान सकिएपछि लीला पछाईंको बयान सुरु भएको छ ।
पछाईंको बयान बाँकी रहेकाले आज पनि उनकै बयान जारी रहने छ । उनको बयान सकिएपछि अर्का प्रतिवादीको बयान सुरु हुन छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज सुरु हुने निश्चित छैन ।
सहकारी ठगी प्रकरणमा अब लामिछानेसहित रामबहादुर खनाल र कृष्ण गुरुङले बयान दिन बाँकी छ ।
प्रतिक्रिया