काठमाण्डु – नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आन्दोलन फिर्ता लिएपछि आजबाटै इन्धन ढुवानी सुरु भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि चालकहरूले आन्दोलन फिर्ता लिने सहमति भएको हो ।
वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा भएको छलफलमा टयांकर संघले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्ने सहमति भएको छ । समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिने सहमति पनि भएको छ ।
निगमको नायब कार्यकारी निर्देशकको संयोजनमा बन्ने समितिले बुझाएको प्रतिवेदनका आधारमा निगमले समस्या समाधान गर्ने सहमति भएको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिए । वार्ता सकारात्मक भएकोले चालकहरूले आजैदेखि आन्दोलन फिर्ता लिएर इन्धन ढुवानी गर्ने सहमति भएको बताए ।
यद्यपि सहमतिको ड्राफ्ट भने तयार भइरहेको वार्तामा रहेका नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघले जनाएको छ । चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थापनलगायत ७ बुँदे माग राखेर आइतबारदेखि थानकोट डिपोबाट इन्धन उठाउन रोकेका थिए ।
प्रतिक्रिया