काठमाण्डु-दक्षिणपूर्वी मोरक्कोको सहारा मरुभूमिमा विगत ५० वर्षमा पहिलो पटक वर्षा भएको छ । अत्यधिक वर्षा भएपछि सहारा मरुभूमि डुबानमा परेको छ । दुई दिनसम्म भारी वर्षा हुँदा त्यहाँ औसतमा एक वर्षमा पर्नेभन्दा बढी पानी परेको थियो । त्यसका कारण मरुभूमिमा दुर्लभ मानिने डुबान भएको थियो ।
‘यति छोटो समयमै यति धेरै पानी परेको ३० देखि ५० वर्ष भइसकेको थियो’, मोरक्कोको मौसमसम्बन्धी निकायका अधिकारी हुसिन यूआबेबले अमेरिकी समाचारसंस्था असोसिएटेड प्रेसलाई भने ।
भारी वर्षाका कारण यस क्षेत्रमा मौसमी प्रक्रिया बदलिन सक्ने आकलन गरिएको छ । उत्तरी, मध्य र पश्चिमी अफ्रिकामा एक दर्जन देशमा फैलिएको सहारा मरुभूमिलाई संसारकै सबैभन्दा लामो तातो मरुभूमि मानिन्छ ।
दक्षिणपूर्वी मोरक्कोलाई संसारको सबैभन्दा सुक्खा ठाउँमध्ये एक मानिन्छ । यहाँ ग्रीष्मयामको उत्तरार्धमा पानी पर्नुलाई दुर्लभ मानिन्छ । मोरक्कोको राजधानी रबाटबाट झन्डै ४५० किलोमिटर दक्षिणमा रहेको ट्यागूनाइटमा २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै वर्षा मापन गरिएको छ ।
मौसमविज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय संस्था डब्ल्यूएमओले यस्तो वर्षालाई अतिउष्णक्षेत्रीय आँधी (’एक्स्ट्राट्रपिकल स्टोर्म’) भनेका छन् । मोरक्कोको मौसमसम्बन्धी निकायले असोसिएटेड प्रेसलाई बताएअनुसार हावामा पानीका मात्रा धेरै हुँदा त्यसले वाष्पीकरणलाई प्रोत्साहित गर्छ र थप आँधीबेहरी ल्याउने वातावरण बनाउँछ ।
नासाले सार्वजनिक गरेका र भूउपग्रहबाट खिचिएका तस्बिरहरूमा जगोरा र टाटा सहरका बीचमा रहेको क्षेत्रमा पानी भरिएको देखिन्छ । यो विगत ५० वर्षसम्म सुक्खा थियो ।
विश्वव्यापी तापमान वृद्धिका कारण चरम मौसमी घटना बढ्न थालेकाले सहारा मरुभूमि क्षेत्रमा भविष्यमा पनि यस्ता घटना हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ ।
प्रतिक्रिया