काठमाण्डु– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा यही फागुन २५ गतेदेखि राजधानीमा सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ ।
सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त प्रतियोगितामा कुल ९१ वटा खेल सञ्चालन हुने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए। उनका अनुसार प्रतियोगिता दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
प्रतियोगितामा देशभरका १४ क्लबको सहभागिता रहने छ । जसमा आरसिटी क्लब, श्री भगवती क्लब, टुसाल युथ क्बल, ब्रिगेड व्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब र बाँसबारी क्लब सहभागी छन् ।
त्यसैगरी श्रीकुमारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्बल र प्लानिङ युनाइटेड क्लब रहेका छन् । एन्फाले उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
प्रतियोगिताको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडिएसी स्पोर्टस्लाई प्रदान गरेको छ । उक्त प्रतियोगिताको टिकट दर दशरथ रङ्गशालामा साधारण प्याराफिटतर्फ १ सय र भिआइपी प्याराफिटतर्फ ३ सय तोकिएको छ । त्यस्तै सातदोबाटोमा सामान्य प्याराफिटर्फ १ सय कायम गरिएको छ ।
प्रतियोगिताको विजेताले १५ लाख प्राप्त गर्ने छभने उपविजेताले १० लाख पाउने छ । त्यसैगरी तेस्रो हुने टोलीले ५ लाख पाउने छ । प्रतियोगितामा फेयर प्ले टिमले १ लाख, उत्कृष्ट गोलकिपरले ५० हजार, सर्वाधिक गोलकर्ताले ५० हजार र प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ७ हजार पाँच सय पाउने छ ।
त्यसैगरी हरेका खेलका विजयी हुने टोलीले २५ हजार तथा बराबरी भएमा टोलीले १० हजार पाउने छ । उक्त प्रतियोगिताको सञ्चालनका लागि कुल रु तीन करोड ९३ लाख एक हजार ८ सय १३ लाग्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता आगामी जेठ २५ गतेसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया