उपत्यकामा साझा यातायातको सेवा सुरु (फोटोफिचर)

उपत्यकामा साझा यातायातको सेवा सुरु (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – साझा यातायात प्रालीले आज (बिहिबार)देखि पुनः आफ्नो सेवा सञ्चालन गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि गत चैत १२ देखि सरकारले लकडाउन लगाएदेखि बन्द रहेको साझा यातायातले सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाएर आजबाट उपत्यकामा सेवा सुरु गरेको हो । लामो समयदेखि बन्द रहेको यातायात चल्न थालेपछि यात्रुलाई सहज भएको छ ।

गत चैतदेखि जारी बन्दाबन्दी सरकारले केही खुकुलो गरेसँगै काठमाडौँ उपत्यकामा अधिकांश कार्यालय र पसल खुलेका छन् । तर यातायातका साधन सहजरुपमा नचल्दा उपत्यकावासीलाई ओहोरदोहोरमा कठिनाइ हुँदै आइरहेको थियो ।

आफ्नो निजी सवारीसाधन नभएर सार्वजनिक यातायातमै भर परेका नागरिक अहिले कष्टकर यात्रा गर्न बाध्य भएका छन् । कतिपयले अरुसँग लिफ्ट माग्छन् । यातायातका साधन नचल्दा कतिपय अहिले पनि काममा जान नसकेर घरमै बस्न बाध्य भएका छन् । तर अब आफ्नो गन्तव्यसम्म पुग्न समस्या भोगिरहेका नागरिकलाई भने साझा यातायातले केही सहज भएको छ ।

अन्य यातायात व्यवसायीले सार्वजनिक यातायात सञ्चालन नगर्ने घोषणा गरिरहेका बेला साझाले सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाएर सेवा सुरु गरेपछि आवतजावत गर्ने नागरिकलाई सजिलो भएको छ ।

साझाका २६ वटा बसले काठमाडौं उपत्यकाका साविककै ८ वटा रुटमा सेवा दिन सुरु गरेको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेले जानकारी दिए । उनले यात्रुको चाप हेरेर आवश्यकताअनुसार बसहरु थप्दै जाने बताए ।

लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित सबै रुटमा साझा यातायातका बस चलिरहेका छन् । साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिएर सेवा सुरु गरेको छ ।

यात्रुहरुलाई अनिवार्य मास्क लगाउन, बसभित्र भीड नगर्न, व्यक्तिगत रुपमा दूरी कायम गरेर बस्न र खुद्रा भाडाको व्यवस्था गरेर बस चढ्न साझाले आग्रह गरेको छ ।

उपत्यकामा सोमबारबाट मयूर, संयक्त, महानगर, सुन्दर यातायात लगायतका बस कम्पनीहरुले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन् । यातायात व्यवसायी कम्पनीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरे पनि केही कम्पनीहरुले भने निर्णय अवज्ञा गर्न थालेका छन् ।

       

 

तस्वीरः वसन्त खड्का