काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुअघि र बनेपछि सधै जोडिएर आउने बिम्ब हो – रेल र पानीजहाज । विकास र समृद्धिका लागि पहिला सपना देख्नुपर्छ भन्ने मान्यता राख्ने प्रधानमन्त्री ओलीले नै नेपाली मनमा रेल र पानीजहाजको सपना स्थापित गरेका हुन् । नेपाललाई अब साइकल र गाडीबाट रेलको युगमा प्रवेश गराउनुपर्ने विषय तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको चुनावी घोषणापत्रमा समेत उल्लेख छ ।
निर्वाचनताका गरिएका अनेक वाचामध्ये रेल र पानीजहाज पनि थिए । समर्थकले सरकारको पक्ष र आलोचकले विपक्षमा बहस गर्दा पनि रेल र पानीजहाजलाई छुटाउँदैनन् । सरकार बनेको छोटो समयमै विपक्षीले रेल र पानीजहाज खै भनेर प्रश्न गर्न थालिसकेका छन् । सँगसँगै सरकारले पनि रेल र पानीजहाज सपनालाई साकार पार्न थालेको छ ।
रेल सपना अन्तिम चरणमा
पानीजहाजभन्दा रेल सपना पूरा गर्ने प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ । रेल सञ्जाल सञ्चालनका लागि भौतिक संरचना लगभग तयार भइसकेका छन् भने रेल खरिदका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ । पहिलो चरणमा भारतको जयनगरदेखि प्रदेश नम्बर २ को जनकपुरसम्म रेल चल्नेछ ।
गत पुस २९ बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरिदका लागि सैद्धान्तिक स्वीकृति दिएको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहँदा सरकारले सरकारी तहमा नै रेलको इन्जिन र डिब्बा खरिद गर्न लागेको हो ।
जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर लामो रेलमार्ग बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले रेलमार्ग सञ्चालनमा ल्याउने उद्देश्यका साथ रेल गाडी खरिद प्रक्रिया अगाडि बढाउन भौतिक मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको जानकारी दिए । नेपालले खरिद गर्ने रेलको मोडलबारे अध्ययन गर्न रेल विभागको टोलीले यसअघि नै भारतमा प्रारम्भिक अध्ययन गरेको छ ।
रेल सेवा सञ्चालनका लागि जनशक्ति व्यवस्थापनका लागि समेत रेल विभागले अध्ययन गरिरहेको छ । आवश्यक दरबन्दी र कर्मचारीबारे अध्ययन गर्न विभागले परामर्शदातालाई परिचालन गरेको छ । रेल कम्पनीसँग रहेका पुराना कर्मचारीहरू हाल रेलमार्गका विभिन्न ठाउँमा खटाइएका छन् ।
जनकपुर क्षेत्रमा रेल चलाउने प्रक्रिया सँगसँगै रेल विभागले देशभर रेल सञ्जाल विस्तारका लागि अध्ययन गरिरहेको छ । दक्षिणी क्षेत्र भारत र उत्तरी छिमेकी चीनसँग सहकार्य गरेर रेल सेवा सञ्चालन गरिने भएकाले सरकारले दुवै पक्षसँग निरन्तर छलफल र आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ । सरकार बनेको एक वर्षमै रेल सपना पूरा गर्न ओली सरकारले तीब्र गतिमा काम गरिरहेको छ ।
पानीजहाज सपना कार्यान्वयनको प्रारम्भ
सरकारले पानीजहाज सञ्चालनका लागि आवश्यक कार्यालय तथा संगठन संरचना र दरबन्दी स्वीकृत गरिएको छ । कार्यालयमा इन्जिनियरिङ सेवाका उपसचिवस्तरका एक व्यक्तिलाई रजिस्ट्रारका रुपमा जिम्मा दिइने भएको छ । कार्यालयमा अन्य कर्मचारीसहित १६ जनाको दरबन्दी सरकारले स्वीकृत गरेको छ ।
सरकारले सप्तकोशीमा पानी जहाज सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको छ । हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भइरहेको कामलाई छुट्टै कार्यालयबाट सञ्चालन गर्न सरकारले पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । रेल ल्याउन यसअघि नै रेल विभाग सञ्चालनमा छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले उपसचिवको नेतृत्वमा १६ जना कर्मचारीसहित पानी जहाज कार्यालयले काम थाल्ने बताए । ‘अब कागजको पानीजहाज होइन, साँच्चै पानीजहाज चलाउन कार्यालय स्थापना भएको छ,’ उनले भने । प्रधानमन्त्री ओलीको पानीजहाज सपनालाई व्यंग्य गर्दै केही समयअघि कांग्रेस कार्यकर्ताले कागजको पानीजहाज बनाएर प्रदर्शन गरेका थिए ।
सरकार बनेको छोटो समयमै ‘पानीजहाजको टिकट कहाँ पाइन्छ ?’ भनेर प्रश्न समेत गर्न थालिएको थियो । पानीजहाज सपना नेपालीको मनमनमा स्थापित हुँदै गइरहेको बेला सरकारले पानीजहाज सपनालाई मूर्त रुप दिन प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्री ओलीले आफ्नै कार्यकालमा पानीजहाज चलाउने गरी तीब्रगतिमा प्रक्रिया अगाडि बढाएका छन् ।
प्रतिक्रिया