सरकारको बचाउमा उत्रे विष्णु रिमाल र राजन भट्टराई :‘आफ्नै पतनको सुरुवात गरेको’ भन्दै कटाक्ष

सरकारको बचाउमा उत्रे विष्णु रिमाल र राजन भट्टराई :‘आफ्नै पतनको सुरुवात गरेको’ भन्दै कटाक्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आफ्नै पार्टीका अध्यक्ष केपी ओली नेतृत्वको सरकारविरुद्ध आक्रामक रुपमा उत्रेका वरिष्ठ नेता माधव नेपालको अभिव्यक्तिको ओली पक्षले समेत खुलेर विरोध गरेको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणमा रहेका बेला वरिष्ठ नेता नेपालले स्थायी समितिको बैठक बोलाएपछि पार्टी भित्र विवाद बढेको छ । सरकारको कार्यशैलीप्रती नेपाल समुहले चर्को आलोचना गरेपछि ओली समुह त्यसको प्रतिवादमा उत्रेको छ । प्रधानमन्त्री ओली निकट दुई जना नेताहरु विष्णु रिमाल र राजन भट्टराईले नेपाल समुहले सुरु गरेको गुटवन्दीको सामाजिक संजालमा विरोध गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै अमेरिकामा रहेका उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेता नेपालले ‘आफ्नै पतनको सुरुवात गरेको’ भन्दै कटाक्ष गरेका छन् । रिमालले शुक्रबार बेलुका ट्वीटरमा लेखेका छन्, ‘मानिसको पतन त्यस समय सुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराइसँग सल्लाह लिन सुरू गरिन्छ ।’

त्यस्तै ओलीका विश्वासपात्र मानिने नेकपाका केन्द्रिय सदस्य डाक्टर राजन भट्टराईले पनि नेपाल पक्षको गतिविधिलाई सरकारको विकल्प खोज्ने प्रयत्नका रुपमा ब्याख्या गरेका छन् । भट्टराईले शनिवार विहानै ट्वीटमा लेखेका छन्, ‘सामाजिक क्षेत्रमा देखापरेका समस्या र विकास निर्माणले चाहे जति गति लिन सकेन भन्ने नाममा सरकारको विकल्प र अझ कतिपयको वैकल्पिक राजनीतिको खोजी धमिलो पानीमा माछा मार्न खोजेको भन्दा बढी के होला र ?’

पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले सरकारको कार्यशैलीप्रति पछिल्लो समय विरोध जनाउंदै आएका छन् । उनले आफु विदेश भ्रमणमा रहेको बेला प्रदेश नेतृत्व टुंगो लगाएको भन्दै त्यसको विरोध समेत गरेका हुन । नेपालले शुक्रवार आयोजना गरेको भेलामा नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ समेत सहभागी थिए । भेलामा केही बहालवाला मन्त्रीहरु समेत सहभागी रहेको स्रोतको दाबी छ ।