दिल्ली– भारतीय अभिनेता सलमान खानलाई धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नोएडाको गौतम बुद्ध नगरमा सिकर्मीको काम गर्ने १८ वर्षका मोहम्मद तैयब रहेका छन्। उनी दिल्लीमा बस्छन् ।
अभियुक्त युवकले मुम्बई प्रहरीको कन्ट्रोल रुममा ‘म सलमान खानलाई छोड्ने छैन’ भन्दै टेक्स्ट म्यासेज गरेका थिए । धम्की पाएपछि मुम्बई प्रहरीले लोकेसन पत्ता लगाएर पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पक्राउ पर्दा अभियुक्त सेक्टर ९२ को एक घरमा सिकर्मीको काम गरिरहेका थिए । एसीपी नोएडा प्रवीण कुमार सिंहले आरोपीलाई पक्राउ गरेको पुष्टि गरेका छन् । बरेलीका मोहम्मद तैयब दिल्लीमा काकासँग बस्दै आएका थिए ।
मुम्बई प्रहरीले आरोपी युवकलाई सुरजपुर अदालतमा लगेको छ, उनलाई अदालतमा पेस गरेपछि प्रहरीले ट्रान्जिट रिमाण्डको माग गर्नेछ । त्यसपछि उनलाई रिमाण्डमा मुम्बई लगिनेछ ।
प्रतिक्रिया