काठमाण्डु- नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशनको छ महिनापछि कार्यविभाजन टुंग्याएको छ । गत असार १६ गते भएको १० औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको ६ महिना पछि केन्द्रदेखि प्रदेशसम्मको कार्यविभाजन टुंगो लगाएको हो । योसँगै विभागीय जिम्मेवारी पनि बाँडफाँट भएको छ ।
मंसिर २६ देखि पुस २ सम्म बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीका सबै नेताहरूको कार्यविभाजन गरेको हो ।
पार्टीले २४ जनाको केन्द्रीय सचिवालय गठन गरेको छ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ नेता रहने केन्द्रीय सचिवालय गठन गरिएको हो ।
सचिवालय सदस्यमा झलनाथ खनाल, डा. बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, राजेन्द्रप्रसाद पाण्डे, धर्मनाथप्रसाद साह, जयन्तीदेवी राई, प्रकाश ज्वाला रहेका छन् ।
यसैगरी डा.गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, घनश्याम भुसाल, राजेन्द्रकुमार राई, गरिमा शाह, मेटमणि चौधरी, रामकुमार भट्टराई, सावित्राकुमारी भुसाल, गणेशबहादुर विश्वकर्मा, चन्द्रबहादुर शाही, बलदेव चौधरी, श्रीनाथ बराल, सोमप्रसाद पाण्डेय र शेरबहादुर कुँवर सदस्य छन् ।
अध्यक्ष नेपालले हस्ताक्षर गरेर नेताहरूलाई पठाएको कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाइएको उल्लेख छ ।
प्रदेशस्तरमा किसान, मजदुर, महिला, युवा, विद्यार्थी, पेसागत बुद्धिजीवी र उद्योग व्यवसायी फाँटको कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै प्रदेश इञ्चार्जको संयोजनमा प्रदेशअन्तर्गत जिम्मेवारीमा रहेका पोलिटब्युरो सदस्यहरूको परामर्शबाट केही फाँटहरूको इञ्चार्जको जिम्मेवारी विभाजन गरिएको छ । प्रदेशका कतिपय फाँटहरूमा केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी तोकिको छ ।
कार्यविभाजन अन्तर्गत सातै प्रदेशको लागि इन्चार्ज र सहइन्चार्ज पनि तोकिएको छ ।
कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाएको उल्लेख छ । इन्चार्जमा भने पदाधिकारीलाई प्राथमिकता दिएको छ ।
कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव राजेन्द्र राईलाई तोकिएको छ भने सहइन्चार्ज भए ९ जनालाई बनाइएको छ । कार्यविभाजन सूचीअनुसार बलदेव चौधरी, धर्म निरौला, भवानीप्रसाद खापुङ, महेश रेग्मी, राजन राई, केशव कुमार विष्ट, खिनु लङवा लिम्बु, जीवन राई र विद्या चाम्लिङ सहइन्चार्ज बनेका छन् ।
त्यसैगरी मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी उपाध्यक्षसमेत रहेका धर्मनाथ प्रसाद साहलाई तोकिएको छ । स्थायी कमिटी सदस्य नगेन्द्र चौधरी यस प्रदेशको सहइन्चार्ज बनेका छन् ।
बागमती प्रदेशको इन्चार्ज उपाध्यक्ष गंगालाल तुलाधर बनेका छन् । बागमतीमा १२ जना सहइन्चार्ज बनेका छन् । जसअनुसार जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, गंगाप्रसाद नेपाल, गुरुप्रसाद बुर्लाकोटी, वसन्त मानन्धर, राजेन्द्र लोहनी, शिव भण्डारी, टोकबहादुर वाइबा, भगवती नेपाल, लक्ष्मण लम्साल, विदुर सापकोटा, सुदेश पराजुली सहइन्चार्ज बनेका छन् । यसैगरी इन्द्रमाया गुरुङलाई सोही प्रदेशको महिला फाँट इन्चार्जको जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।
गण्डकी प्रदेशमा भने सचिव श्रीनाथ बराल इन्चार्ज बन्दा पोलिटब्युरो सदस्य दिलुकुमारी पन्त सहइन्चार्ज बनेकी छिन् ।
लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव मेटमणि चौधरीलाई तोकिएको छ । यहाँको सहइन्चार्जमा सचिव सोमप्रसाद पाण्डे रहेका छन् । कर्णाली प्रदेशको इन्चार्जमा भने सचिव चन्द्रबहादुर शाही चयन भएका छन् । यहाँको सहइन्चार्जको जिम्मेवारी पोलिटब्युरो सदस्य शेरबहादुर केसीलाई दिइएको छ ।
सुदूरपश्चिम प्रदेशमा भने उपाध्यक्ष भानुभक्त जोशी इन्चार्जको जिम्मेवारीमा रहनेछन् । यहाँको सहइन्चार्जको जिम्मेवारी सचिव शेरबहादुर कुँवरले पाएका छन् ।
प्रतिक्रिया