समानुपातिकमा एमाले र कांग्रेसको हैसियत उस्ता उस्तै

समानुपातिकमा एमाले र कांग्रेसको हैसियत उस्ता उस्तै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख ३ हजार ६ सय १८ मत गणना भएको छ । निर्वाचन आयोगका अनुसार सर्लाही २ र ३ नम्बर क्षेत्रको गणना जारी छ ।

 

दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ । सबै गणना सकिदा उल्लिखित सिट संख्यामा सामान्य मात्र हेरफेर हुन सक्ने आयोग स्रोतले जनाएको छ ।

 

यी पांच पार्टीले मात्रै कुल सदर मतको ३ प्रतिशत कटाएकाले कानुनअनुसार ती दलले मात्रै समानुपातिकबाट सिट पाउनेछन् । आयोगले ‘सेन्टलग’ विधिबाट दलहरूले पाउने सिट निर्धारण गर्नेछ । ३ प्रतिशतभन्दा कम ल्याएका दलहरूको मत समानुपातिक सिटका लागि गणना हुनेछैन । समानुपातिक निर्वाचन प्रणालीबाट ४९ दलले चुनावी प्रतिस्पर्धा गरेका थिए । ४४ दलले ३ प्रतिशतभन्दा कम मत पाए ।

 

सबभन्दा बढी एमालेले ३१ लाख ६१ हजार २ सय ९५ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले ३१ लाख ११ हजार ६ सय ४३ मत पाएको छ । प्रत्यक्षतर्फ एमालेभन्दा धेरै सिटले पछाडि रहेको कांग्रेस लोकप्रिय मतमा भने एमालेभन्दा ४९ हजार ६ सय ५२ मतले मात्रै पछाडि छ । प्रत्यक्षमा एमालेले ८० सिट जित्दा कांग्रेसले २३ सिट मात्रै जितेको छ ।

 

प्रत्यक्षतर्फ ३६ सिट जितेर दोस्रो स्थानमा रहेको माओवादी भने लोकप्रिय मतमा तेस्रो स्थानमा छ । उसले १२ लाख ९५ हजार ९ सय ३ मत ल्याएको छ । समानुपातिक सिट जोड्दा कांग्रेस दोस्रो ठूलो दल हुनेछ । लोकप्रिय मतमा अन्तिम समयमा राष्ट्रिय जनता पार्टीले संघीय समाजवादी फोरमलाई उछिनेको छ ।

 

समानुपातिकको गणना सुरु भएदेखि चौथो स्थानमा रहेको फोरम शनिबार राति यो समाचार तयार पारिरहँदा पांचौं स्थानमा पुगेको छ । राजपाले फोरमलाई १ हजार २५ मतले जितेको छ । राजपाले ४ लाख ७० हजार ४ सय ८६ मत पाउँदा फोरमले ४ लाख ६९ हजार ४ सय ६१ मत ल्याएको छ । प्रत्यक्षतर्फ एक सिटले फोरमभन्दा राजपा अगाडि छ । राजपाले ११ र फोरमले १० सिट जितेका छन् ।

 

 

समानुपातिकतर्फको अनुमानित सिटसमेत जोड्दा प्रतिनिधिसभामा एमालेको १ सय २१, कांग्रेसको ६३, माओवादीको ५३, राजपाको १७ र फोरमको १६ सिट हुने देखिन्छ । आयोगले निकाल्ने अन्तिम परिणामले उक्त संख्यामा सामान्य हेरफेर भने हुन सक्छ ।

 

 

त्यसबाहेक प्रतिनिधिसभामा राप्रपा १, नयाँ शक्ति पार्टी १, राष्ट्रिय जनमोर्चा १, नेमकिपा १ र स्वतन्त्र १ गरी ५ जनाको उपस्थिति रहनेछ । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिन लाग्दा त्यसको अन्तिम परिणाम दिने विषयमा भने आयोगलाई कानुनी अड्चन देखिएको छ ।

 

संविधानअनुसार राष्ट्रिय सभाको गठन नभई समानुपातिकतर्फको परिणाम आउन नसक्ने स्थिति उत्पन्न भएको छ । आयोगले पुस १५ भित्र निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपतिसमक्ष बुझाइसक्ने लक्ष्य लिएकोमा त्यो केही दिन धकेलिने सम्भावना देखिएको छ । आयोगका पदाधिकारी तथा कर्मचारीले यस विषयमा औपचारिक प्रतिक्रिया दिन मानेनन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।