काठमाण्डु- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी प्रशासन भित्र सुधार गर्नका लागि थप कदम चालेको छ । सिनियर कर्मचारीलाई बरन्डामा थन्क्याउने तर आफ्नो अनुकुलका कर्मचारीलाई शक्तिका भरमा खटाउने परम्पराले कर्मचारी प्रशासन भित्र विकृती देखिएको ठहर गर्दै मन्त्री अमनलाल मोदीले यस्तो अवस्थाको अन्त्य गर्न पहल गरेका हुन् ।
मन्त्री मोदीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृत दरबन्दी अनुसार मात्रै कर्मचारी खटाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । मन्त्री मोदीको निर्देशन अनुसार सामान्य प्रशासन मन्त्रालयले आइतबार नै अन्य मन्त्रालयलाई पत्राचार गरेको छ ।
स्वीकृत दरबन्दी भएका सहसचिवलाई काम नदिने तर तल्लो तहका उपसचिवहरुलाई शक्तिको आडामा काममा लगाउने पाईएपछि आइतबार सामान्य प्रशासन मन्त्रालयले ७ दिन भित्र दरबन्दी अनुसारकै कर्मचारी खटाउने पत्राचार गरेको हो ।
‘कतिपय निकायमा स्वीकृत दरबन्दीको पदमा मुनिको कर्मचारीलाई खटाईएको पाईएको हुँदा यो परिपत्र जारी भएको मितिले ७ दिन भित्र स्वीकृत दरबन्दी अनुसारकै कर्मचारी खटाई यस मन्त्रालयलाई जानकारी गराउने, यदी स्वीकृत दरबन्दी भन्दा मुनिको कर्मचारीबाट कार्यसम्पादन हुन सक्ने र माथिल्लो तहको कर्मचारी आवश्यक नपर्ने हो भने दरबन्दी पुर्नसंरचनाको प्रकृया अघि बढाई सो को जानकारी गराउनु ।’ सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता रुद्रसिंह तामाङले आइतबार गरेको पत्रचारमा भनिएको छ।
सहसचिवको दरबन्दी भएको स्थानमा उपसचिवबाट काम चलाउने, उपसचिवको दरबन्दी रहेको प्रमुख प्रशासकीय अधिकृत पदमा निमित्तबाट काम चलाउने जस्ता विकृति देखिएको भन्दै मन्त्रालयले यस्तो कदम चालेको हो ।
मन्त्री मोदीले निजामती सेवा ऐनको व्यवस्था अनुसार न्यूनतम् सेवा अवधि पूरा नभएका कर्मचारीलाई सरुवा गर्नुपरेमा मन्त्रालयको स्वीकृती लिनुपर्ने व्यवसथा गर्न पनि निर्देशन दिएका छन् ।
प्रतिक्रिया