१५ करोडको लागतमा बन्यो ‘शाम्बाला’, २९ देशमा रिलिजको टुंगो

१५ करोडको लागतमा बन्यो ‘शाम्बाला’, २९ देशमा रिलिजको टुंगो


काठमाण्डु-मिन भाम निर्देशित चलचित्र ‘शाम्बाला’ हालसम्मकै नेपालको मंहगो चलचित्र बनेको छ । निर्माणपक्षका अनुसार यो चलचित्र निर्माणका लागि १४ करोड २१ लाख २० हजार रुपैयाँ बजेट लागेको छ ।

‘हामीले यो चलचित्र निर्माणको बजेट १४ करोड २१ लाख उल्लेख गरेका छौँ । तर वास्तवमा सबै हिसाब गर्दा करिब १५ करोड रुपैयाँ लागेको छ,’ निर्देशक मिन भामले भने ।

हिमाली भेगको छायांकन, कथामा रिसर्च तथा प्रोडक्सनको काम नेपाल बाहिर गरेकाले बजेट धेरै लागेको हो । अझै पनि यो चलचित्रलाई ‘इनह्यान्स’ गर्ने काम भइरहेको उनले बताएका छन् ।

यसैबीच, चलचित्र ‘शाम्बाला’को नेपाल रिलिज घोषणा गरिएको छ । ललितपुरमा कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो ।

निर्देशक मिनका अनुसार ‘शाम्बाला’ नेपालमा भदौ २८ गतेबाट रिलिज हुनेछ ।

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो । उक्त फेस्टिभलको यो विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो ।

यस्तै ‘शाम्बाला’ स्विट्जरल्यान्डको फिल्म फेस्टिभल लोकार्नोको ७७औँ संस्करणमा छनोट भएको छ । पियाजा ग्राण्डे विधामा चलचित्र छनोट भएको हो । यीबाहेक विश्वका थुप्रै फेस्टिभलमा यो चलचित्र छनोट भइसकेको छ ।

सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘शाम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायतको मुख्य भूमिका छ ।

उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमान्ले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेकी महिलाको कथा यो चलचित्रले पेस गर्छ । चलचित्रको कथा मिन भाम र अविनाशविक्रम शाहले लेखेका हुन् ।

निर्देशक मिनले हालसम्म विश्वका २९ देशमा हल रिलिजको टुंगो लागिसकेको छ । ‘हाम्रो सेल्स एजेन्ट जो हो उसका अनुसार ४० देशको राइट्स बिक्री भइसकेको छ,’ उनले भने, ‘नेट्फिल्क्ससँग पनि संवाद भइरहेको छ । तर, सबैतिर रिलिज भइसकेपछि मात्र नेट्फिल्क्समा जाने हाम्रो लक्ष्य हो । हेरौँ कस्तो हुन्छ ।’