संविधान संशोधनका लागि काठमाण्डुमा बौद्धिक बहस सुरु, पूर्व सभामुख ढुंगानाको अगुवाइ

संविधान संशोधनका लागि काठमाण्डुमा बौद्धिक बहस सुरु, पूर्व सभामुख ढुंगानाको अगुवाइ


काठमाण्डु – नेपालको संविधान २०७२ को पुनरावलोकनका लागि शुक्रबारदेखि औपचारिक रूपमा बौद्धिक बहस सुरु भएको छ ।

पूर्व सभामुख दमननाथ ढुंगानाको अध्यक्षतामा रहेको संसदीय अध्ययन तथा विकास संस्थापनाको अग्रसरतामा शुक्रबारदेखि औपचारिक रूपमा बौद्धिक बहस सुरु भएको छ ।

संसद् दिवसको अवसर पारेर शुक्रबारदेखि सुरु भएको बहस निरन्तर रूपमा सञ्चालन गर्ने संस्थापनाका उपाध्यक्ष तथा पूर्व मन्त्री दिपकुमार उपाध्यायले जानकारी दिए ।

उनका अनुसार दलका शीर्ष नेता, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, सांसद, पूर्व सांसद, विज्ञ, कानूनविद्, सरोकारवाला लगायतसँग शृंखलावद्ध रूपमा छलफल चलाउने तयारी भएको छ ।

संस्थापनाले आयोजना गरेको पहिलो कार्यक्रममा सहभागी सबैले संविधानको पुनरावलोकन आवश्यक रहेकोमा ऐक्यबद्धता जनाउँदै प्रक्रियाबारे भने फरक–फरक सुझाव तथा राय राखेका थिए ।

कार्यक्रमको सुरुमा संविधानसभा सदस्य तथा वरिष्ठ संविधानविद् राधेश्याम अधिकारीले पुनरावलोकनको आवश्यकता रहेका संवैधानिक व्यवस्थाहरूको सूची प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पूर्व कानूनमन्त्री तथा संविधानसभा सदस्य एमाले नेता अग्नी खरेल, संविधानसभा सदस्य किरण यादव, पूर्व सांसद रामनारायण बिडारी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, काँग्रेस सांसद उदयशम्शेर राणा, राप्रपा नेता निरन्जन थापा, प्राध्यापक कपिल श्रेष्ठ, वरिष्ठ पत्रकार किशोर नेपाल, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, डा. चन्द्रकान्त ज्ञवाली, दिनेश त्रिपाठी, टिकाराम भट्टराई, रामकृष्ण निराला, रक्षा बस्याल लगायतले संविधान संशोधनको आवश्यकता रहेकोमै जोड दिए ।

अधिकांशले संविधानका मूल विषयहरू लोकतन्त्र, गणतन्त्र, समानुपातिक र संघीयतालाई चलाउन नहुने र त्यसलाई थप प्रभावकारी बनाउने उपायहरू थप्नुपर्ने राय राखेका थिए ।

कार्यक्रममा कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, एमाले सांसद रघुजी पन्त, पुर्व निर्वाचन आयुक्त विरेन्द्र मिश्र, पूर्व राजदूत सनिल नेपाल लगायतको सहभागिता थियो ।