समीकरण परिवर्तन गर्ने बेला भारतीय नेतालाई जानकारी गराएको थिएँ : प्रधानमन्त्री

समीकरण परिवर्तन गर्ने बेला भारतीय नेतालाई जानकारी गराएको थिएँ : प्रधानमन्त्री


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतमा पनि गठबन्धनकै सरकार बनेको कारण दुवै देशको अनुभव एकअर्काका लागि फलदायी हुने बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार नेपाली पत्रकारहरूसँग कुराकानी गर्दै भारतमा २०१४ र २०१९ को भन्दा अहिले फरक राजनीतिक समीकरण बनेको बताए । ‘दुवै देशमा गठबन्धनको सरकार रहेको अवस्थामा अझ सहज र एकअर्काका अनुभवहरू फलदायी हुने विश्वास छ, प्रधानमन्त्रीले भने,  ‘अहिले भारतमा पनि गठबन्धनकै सरकार बन्यो । हिजो शपथ ग्रहण भएको पनि गठबन्धनकै सरकारको शपथ ग्रहण हो । त्यसले चाहीँ अझ सहज हुन्छ, हामी दुवैका अनुभवहरू एकअर्काका लागि फलदायी हुन्छन् भन्ने मलाई लागेको छ ।’

नेपाल-भारत सम्बन्धलाई सहज बनाउने र आपसी सहाकार्यलाई अभिवृद्धि गर्ने कुरामा नेपालको तर्फबाट कुनै समस्या नरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले दुवै देशमा राजनीतिक समीकरण जे–जस्तो भएपनि नेपाल–भारत सम्बन्धलाई ‘कन्सिस्टेन्ट’ राख्ने, निरन्तर अगाडि बढाउने कुरामा सरकार, प्रधानमन्त्री, सबै राजनीतिक दलहरू एक रहेछन् भन्ने सन्देश गएको बताए ।

दुई देशको सत्ता समीकरण परिवर्तनले नेपाल–भारतबीचको सम्बन्धमा कुनै असर नपर्ने पनि उनले बताए ।

‘समीकरण परिवर्तनसँगै नेपालको परराष्ट्र नीतिमा कुनै परिवर्तन आउँदैन । समीकरण परिवर्तन हुने बेलामा नै भारतीय नेताहरूलाई यस विषयमा प्रष्टसँग भनेको थिएँ । दुई पक्षीय सम्बन्धमा आपसी सहकार्य बढाएर लैजानुपर्ने र आर्थिकलगायत सबै क्षेत्रमा मिलेर जाने कुरामा समीकरण परिवर्तनले कुनै असर गर्दैन’, प्रधानमन्त्रीले भने, ‘भारतमा नेपालको आन्तरिक राजनीति के कस्तो हुन्छ भन्ने कुराले नेपाल- भारत सम्बन्धमा केही फरक पर्दैन । पर्न पनि हुँदैन भन्ने मान्यता हामीले राख्दै आएका छौं ।’

नेपाल–भारतबीच मुख्य ध्यान विकासमा रहेको पनि उनले बताए । विकासमा पनि ऊर्जा र कृषिलाई विशेष प्राथमिकता दिइएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले भारतसँगको व्यापार घाटाका विषयमा कुरा राखेको बताए । प्रधानमन्त्री प्रचण्डले नेपालसँग भारतीय नेताहरू विस्तारै सकारात्मक बन्दै गएको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको बताए । ‘भारतीय प्रधानमन्त्री मोदीसँग भएको भेटमा उहाँलाई तेस्रो कार्यकालको पहिलो भ्रमण नेपालबाट गर्न निमन्त्रणा दिएको हुँ’, प्रधानमन्त्रीले भने ।

भारतीय प्रधानमन्त्रीले निमन्त्रणा सहज रूपमा स्वीकार गरेको पनि उनले बताए । तर, पहिलो भ्रमण नेपालबाट भने नहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले बताएअनुसार भारतीय प्रधानमन्त्री मोदी आगामी जुन १३ मा इटालीमा जी सेभेनको बैठकमा सहभागी हुँदैछन् । मोदीले इटालीबाट फर्किएपछि नेपाल आउने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।