राज्य खुट्टामा चेन बाँधेर बसेको छ,पैसा तिरेर कोरोना परीक्षण गर्न दिउँ: समिरमणि दीक्षित (अन्तर्वार्ता)

राज्य खुट्टामा चेन बाँधेर बसेको छ,पैसा तिरेर कोरोना परीक्षण गर्न दिउँ: समिरमणि दीक्षित (अन्तर्वार्ता)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनस्वास्थ्य विज्ञ तथा वैज्ञानिक समिरमणि दीक्षित कोरोना संक्रमणबारे जनचेतना फैलाउने कार्यमा सक्रिय छन् । सामाजिक सञ्जाल, विभिन्न अन्तरवार्ता, लेख र भिडिओहरुमार्फत सही सूचना दिन दीक्षितले विशेष भूमीका खेल्दै आएका छन् । दीक्षित रिसर्च एण्ड डेभलपमेन्ट फर इन्ट्रेपिड नेपाल (सिएमडिएन) का निर्देशक हुन् । हालै मात्र उनी सम्बद्ध संस्थाले काठमाण्डु उपत्यकामा ढलको नमुना लिएर कोरोना संक्रमणबारे अनुसन्धान गरेको थियो । बढ्दो कोरोना संक्रमण र पछिल्लो अवस्थाबारे दीक्षितसँग काठमाण्डुपाटीका लागि नरेन्द्र रौलेले गरेको कुराकानीः

पछिल्लो समय काठमाण्डु उपत्यकामा कोरोना संक्रमणका धेरै केसहरु बढिरहेका छन् । यसले कस्तो संकेत गर्छ ?

अब झट्ट हेर्दा त त्यो हो जस्तो लाग्छ । किनभने दिनप्रतिदिन काठमाण्डुमा संक्रमितको संख्या पहिले भन्दा परीक्षणको आधारमा मान्ने हो भने बढेको जस्तो देखिन्छ । तर ठ्याक्क भन्न गाह्रो छ । किनभने यदि काठमाण्डु उपत्यकालाई उच्च जोखिम मान्ने हो भने त्यो जोखिम सूरु भएको ५ महिना भईसक्यो । काठमाण्डुमा अहिले मात्र संक्रमण भएको अवश्य पनि होईन । संक्रमण बढेका देशबाट फर्किएका नेपालीहरुले के संक्रमण सार्नु भएन होला त ? जवाफ छैन । किनभने परीक्षण त्यो लेभलमा गरिएको थिएन ।

अब अहिले परीक्षणको दायरा बढाइएको छ । तर परीक्षण बढाएता पनि भारतबाट आउनु भएका नेपालीहरु यति व्यापक रुपमा आउनु भयो र त्यो बिचमा काठमाण्डु पनि व्यापक रुपमा छिर्नु भयो । उहांहरु सबैको परीक्षण भएको छैन । उहांहरुले कति जनालाई सार्नु भयो । त्यहा परीक्षण भएन । भन्न गाह्रो छ । ५ महिना अगाडी झन् धेरै थियौं कि ? आजको अवस्थामा झ्वाट्ट हेर्दा बढेको छ ।

सार्वजनिक यातायात चल्न थालिसके । टुटल, पठाओले पनि आफ्नो सेवा सञ्चालन गरिसके । यसले संक्रमण फैलाउने खतरा कतिको छ ?

समस्यालाई कसरी हेर्ने ? हामी के विश्वस्त छौं बाहिर कसैलाई भेट्दा उ संक्रमित छैन भनेर । संक्रमण कहां सर्छ भने जहाँ बन्दाबन्दी छ, जहाँ मानिसहरुले मास्क लगाउदैनन् त्यहा सर्छ । खुला वातावरणमा कोही मास्क लगाएर हिंडेको छ भने संक्रमण हुने सम्भाबना कम हुन्छ । संक्रमण सर्ने सम्भाबना पनि कम हुन्छ । सवारीसाधनको कुरा गर्दा यदि दुरी कायम गरेर, अनुशासित भएर, मास्क लगाएर, हात सफा गरेर चढ्ने हो भने व्यापक रुपमा बढ्दैन । मास्क नलगाई, हात फोहोर गरेर, अनुशासन उल्लंघन गरेर, ठेलमठेल गर्ने हो भने संक्रमण नफैलिएला भन्न सकिन्न ।

काठमाण्डुको ढलमा पनि कोरोना संक्रमण फैलियो भनेर केही अगाडी समाचार आयो । यसले काठमाण्डु उपत्यकाको समुदायमा पनि कोरोना संक्रमण फैलिइसकेको जनाउंदैन ?

त्यो ढलसम्बन्धि मेरै संस्थाले गरेको काम थियो । त्यो संस्था प्रुफ अफ प्रिन्सिपल थियो । त्यो भन्नाले कस्तो भने कुनै अनुसन्धान गर्नु अघि त्यो अनुसन्धान गर्नका लागी बाटो छ कि छैन भनेर हेर्न खोजिएको हो । हामीस“ग भएको उपकरण, प्रविधी, पद्दतीले काम नगर्दो हो, त्यो भाइरस समात्न नसक्दो हो त्यो अनुसन्धान गर्नुको काम छैन ।

हामीले उपत्यका वरीपरी चार वटा ढलमा थोरै स्याम्पलमा टेस्टिङ गरेको हो । त्यहां दुई वटामा देखियो । यसले के जनायो भने हामीसंग भएको प्रविधी, उपकरण र विधीले काम गर्दो रहेछ । त्यसले भाइरस समात्दो रहेछ । दोस्रो समाजमा एक रुपमा यो भाइरसको व्यापकता रहेछ । जुन व्यक्तिबाट दिसा हुंदै बाहिर निस्किने क्रममा धेरै जनाबाट यो निस्केको हो भन्ने देखायो ।

बिभिन्न घर धुरीमा संक्रमित रहेछन् भन्ने देखायो । समाजमा व्यापक रुपमा सरिसकेको छ कि छैन भन्न सक्दैनौं । किनभने एकपटक एकचोटी मात्र हामीले केस हेरेको हो । त्यही ठाउमा हरेक हप्ता भाइरस धेरै थोरै देख्यो भने हामी संक्रमण व्यापक फैलिएको छ कि छैन त्यो भन्न सक्छौं । ढलमा हरेक खालका जिवाणु र किटाणु हुन्छन् । हामीले सामान्य सूचना लिन खोजेको हो । ढलबाट समाजमा भएको संक्रमण समात्न सक्ने रहेछौं । त्यो सकिदो रहेछ ।

कोरोना भाइरसले  कस्तो व्यक्तिलाई बढी असर गर्छ ?

तपाईलाई अचम्म लाग्ला, यो अचम्मको भाइरस छ । संसारभर ८०, ८५ प्रतिशतमा रुघाखोकी भन्दा कमजोर छ । लक्षण नै छैन । लक्षण देखिन त कि रुघा लाग्नु पर्यो कि ज्वरो आउनु पर्यो, असहज महशुष हुनुपर्यो । अधिकांशलाई यो रुघाखोकी भन्दा कमजोर छ । तर ७० वर्ष कटेका, उमेरसँग मतलब नराखेका, अन्य दिर्घ रोग लागेका जस्तै मुटु रोगी, कलेजोका रोगीलाई रुघाखोकी भन्दा करिब २०, ४० गुणा बढी संक्रमण गर्छ ।

सरकारले गरेको कामलाई कसरी मूल्यांकन कसरी गर्नु भएको छ ? के सुझाव दिनु हुन्छ ?

विश्वका सबै देशलाई अफ्ठ्यारो परेको छ । परीक्षण र निगरानीमा धेरै देशलाई अफ्ठ्यारो परेको छ । दक्षिण एसियामा पनि हामी भन्दा राम्रो परीक्षण गर्ने २ वटा मात्र देश भएको तथ्यांकले देखाएको छ । त्यो आफैमा राम्रो हो । स्वास्थ्य मन्त्रालयले एक किसिमले विश्वकै स्तरमा लिन खोजेको देखिन्छ ।

तर जति गर्नुपर्ने हो त्यती काम भएको छैन । दिनको १० हजार परीक्षण गरेर खुसीयाली मनाउने हो भने हामी त्यहा सम्म पुग्न सकेका छैनौं । स्वास्थ्य मन्त्रालयले के तर्क दिईरहेको छ भन्दाखेरी परेकोलाई मात्र परीक्षण गर्ने हो अरुलाई किन गर्ने ? हाम्रो देशको अर्थतन्त्र धान्न सक्दैन, किट किन्नु पर्छ, पैसा लाग्छ भन्नु हुन्छ । म के भन्छु भने जसले ५५ सय तिरेर परीक्षण गर्छु भन्छ, उसलाइ त गर्न देउ । मानिस ढुक्क त हुन्छ । राज्यले यस्तो बेला व्योहोर्न नसक्ने ? ढुकुटीमा भएको पैसा यस्तो बेला चलाउनु त पर्छ नि ।

अर्बौंको घोटाला गर्न सक्ने तर आम नागरीकलाई परिक्षण पैसा तिर्न नसक्ने ? त्यो त भएन नि । राज्यले गर्न खोजेको हो तर जुन स्तरमा काम गर्न सक्नु पर्ने हो त्यो उसले आफैले आफैलाई रोकिराखेको छ ।

त्यसो भए समस्या कहाँनेर छ त ?

समस्या समन्वयमा छ । समस्या नेतृत्वमा छ । नेतृत्वले यो गर्नु पर्छ भनेर अडान लिन सकेको छैन । मैले यो निर्णय लिए, गरेरै छाड्छु भन्यो भने काम हुन्छ । स्वास्थ्य मन्त्रालयले बिभिन्न निकायमा समन्वय गर्नुपर्छ । नेतृत्वदायी भूमीका लिनुपर्यो । निर्णय लिन डराउनु भएन । आज ६ हजार टेस्टिङ गर्यो भने भोली ६ हजार गर्नपर्यो ।

तपाई त अध्ययन, अनुसन्धानमा सक्रिय हुनुहुन्छ । कोरोनाको भ्याक्सिन कहिलेसम्म आउछ होला ? औषधी कहिलेसम्म पत्ता लाग्ला ?

बिडम्बना हामी आफैं भ्याक्सिनका लागी काम गर्न सक्दैनौं । तर, अन्तराष्ट्रिय अनुसन्धानहरु हेर्दा १ सय देखी १ सय २० वटा बिभिन्न कम्पनिहरु भ्याक्सिनका लागी पर्नु भएको छ । यो काम त्यती सजिलो छैन । यो वर्षको अन्त्यसम्म केही देखिन्छ कि भन्ने छ ।

कोभिड–१९ मा धेरै देशले राम्रो काम गरिरहेका छन् । जनतालाई सहज पनि हुने, अर्थतन्त्र पनि चलायमान हुने गरी नेपालले अन्य कुन देशको मोडल अपनाउँदा बेस हुन्छ ?

म त्यतातिर जान्न । सबै देशको आफ्नै कमजोरी छ । आफ्नै राम्रो पक्ष छ । अमेरिकालाई हेर्नुहोस्, त्यत्रो सम्पन्न देश, त्यहाँकेस बढेको बढ्यै छ । अस्ट्रेलिया हेरौं त्यहाँ राम्रो छ, जनसंख्या कम छ । हामीले तुलना गर्न मिल्दैन । न्युजिल्याण्ड यस्तो राम्रो गरिरहेको छ, उसको टेस्टिङ गर्ने क्षमता हाम्रो भन्दा गजब राम्रो छ । नेतृत्व गजब छ । कसैलाई हेर्ने हैन, के गर्नुपर्छ हामीलाई थाहा छ । के गर्नुपर्छ भन्ने विज्ञता हाम्रै देशमा छ । हाम्राे स्रोत, साधन धरातल हामीलाई थाहा छ । हाम्रै विज्ञहरुको विचमा छलफल गर्यो भने अरु देश किन हेर्नपर्यो ? बरु अरु देशले हामीलाई हेरुन् न ।

नेपाली नागरिकहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?

भयावह भन्ने जुन शब्द छ, त्यो तपाईको शब्दकोषबाट निकालिदिनुस् । यो शब्द सुनेको ५, ६ महिना भईसक्यो । यो भयावह भनेको के हो, कसरी हुन्छ मलाई थाहा छैन । अस्पतालमा थेग्नै नसकिने गरी कोही भर्ना भएको छैनन्, मानिसहरु खोक्दै खोक्दै सडकमा लडेका छैनन् । संक्रमण घटेको छ ।

मास्क लगाऔैं, हात सफा गरौं, दुरी कायम गरौं, भिडभाड नगरौं, अनुशासित बनौं । आफ्नो दैनिक जीवनशैलीमा फर्कन थालौं हामीहरु । एक अर्काप्रति आदर गरौं । संसारका अरु देश भन्दा सायद हामी छिटो सामान्यतिर जान्छौं ।