यथाशीघ्र गुठी विधेयक ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

यथाशीघ्र गुठी विधेयक ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन


काठमाण्डु – संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले गुुठी सम्बन्धी विधेयक जतिसक्दो छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रियसभा अन्तर्गतको समितिको सिंहदरबारस्थित कार्यकक्षमा भएको भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई दिएको निर्देशनको प्रगति अवस्थाबारे बुधबार भएको छलफलपछि समितिले मन्त्रालयलाई देशभरको गुठी सम्बन्धी समस्या समाधान गर्ने गरी विधेयक ल्याउन निर्देशन दिएको छ ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले देशभर रहेको गुठीको जग्गा खोज्ने काम गरिरहेको बताउँदै गुठीको संरचना र जग्गा खोजेर आवश्यक नीति तय गर्ने सरकारको योजना रहेको बताए ।

‘भूूमिहीनको समस्या समाधान गर्नका लागि राष्ट्रिय भूमि आयोगलाई अधिकार सम्पन्न बनाउँदै भएका कानूनका अप्ठ्यारा फुकाउनुुपर्नेछ, त्यसका लागि पनि मन्त्रालयले काम गरिरहेको छ,’ उनले भने, ‘पुस महिनाभित्र सबै जिल्लामा आयोग बनाउने काम सकिनेछ ।’

बैठकमा सांसदहरूले गुठी समस्या समाधानका लागि भइरहेको पहल, गुठी ऐन निर्माणका लागि भइरहेका काम, र भूमिहीनको समस्या समाधन लगातका विषयमा जोड दिएका थिए ।