धर्मशालाको विवादमा अध्ययन गर्न मन्त्रालयले बनायो समिति

धर्मशालाको विवादमा अध्ययन गर्न मन्त्रालयले बनायो समिति


काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशाला धर्मशाला विवादको विषयमा अध्ययन गर्न समिति गठन गरेको छ ।

धर्मशाला विवादको विषयमा यथार्थता अध्ययन गर्न मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘पशुपति गौशाला धर्मशालाको विषयमा यथार्थता अध्ययन गरी प्रतिवेदन पेश गर्न यस मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखाका प्रमुखको अध्यक्षतामा छ (६) सदस्यीय अध्ययन समिति आज मिति २०८१/०७/०५ मा गठन भएको छ ।’

समितिका सदस्यहरूमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र यस मन्त्रालयका संस्कृति शाखाका उपसचिव रहेका छन् ।

समितिलाई ३० दिनभित्र यथार्थ विवरण सहितको प्रतिवेदन पर्यटनमन्त्रीसमक्ष पेश गर्न भनिएको छ ।