काठमाण्डु – संघीय संसद्, संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । यसको औपचारिक घोषणा भने बिहीबार समिति बैठकमा प्रस्तावक र समर्थकले प्रस्ताव र समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत गरेर गरिनेछ ।
सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका तर्फबाट समिति सदस्य ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ । उनको मनोनयन प्रस्तावक श्यामकुमार घिमिरे र समर्थकमा सुनिता बराल छन् ।
राज्यका निर्देशक सिद्धान्त समितिमा नेकपा एमालेका तर्फबाट समिति सदस्य ठाकुरप्रसाद गैरेको उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा सरस्वती सुब्बा र समर्थकमा दीलेन्द्रप्रसाद बडु रहेको महासचिव पाण्डेयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
समितिका सभापतिको निर्वाचनका लागि यही साउन ३१ गते बिहीबारको मिति निर्धारण भएअनुसार आज उनीहरूको उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो । तोकिएको समयमा दुवै समितिमा एक एक जनाको उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन कार्यक्रम अनुसार साउन ३१ गते बिहीबार ३ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले उम्मेदवारीसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने निर्वाचन कार्यक्रमसम्बन्धी संसद् सचिवालयको सूचनामा उल्लेख छ ।
प्रतिनिधिसभा निर्वाचन भएको करिब डेढ वर्षपछि दुई समितिका सभापति चयन हुन लागेका हुन् । यसअघि संसदीय सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुँदै आएको थियो भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति यही साउन १६ गते गठन भएको हो ।
दुई समिति सभापति सत्तारुढ दल कांग्रेस र एमालेले एक एक वटा भागबण्डा गरेका हुन् ।
प्रतिक्रिया