किर्ते अभियोगमा प्रदेश सांसदलाई १ वर्ष जेल, चुनावमा भोट नहाली फरार !

किर्ते अभियोगमा प्रदेश सांसदलाई १ वर्ष जेल, चुनावमा भोट नहाली फरार !


काठमाडौं – सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको अभियोगमा प्रदेश सांसद गुलेफुन मियाँलाई एक वर्ष कैदको फैसला भएको छ । सांसद मियाँलाई जेलसँगै १४ हजार ५ सय ८३ जरिवाना सजायको फैसला भएको हो ।

तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरी छापा कीर्ते गरेको आरोपमा उच्च अदालत विराटनगरले सांसद मियाँलाई दोषी ठहर हाे ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश यमुना भट्टराईको इजलासले ९ पुसमा जिल्लाको आदेश सदर गरेको हो । अदालतको आदेशपछि उनी फरार भएकी छन् । गत बिहीबारको राष्ट्रिय सभा निर्वाचनमा पनि उनी सहभागी भइनन् ।

गुलेफुनका पति शेख दिलावर मियाँले आफ्ना बुवा शेख धाई मियाँको ०६३ माघ १० गते र आमा खैरुन खातुनको ०६५ मंसिर १२ गते मृत्यु भएकोले तत्कालीन कदमहा गाविस–२ स्थित मधुसुदनराज पाण्डेको कित्ता नम्बर ११० को ७२८० वर्ग मिटर क्षेत्रफल जग्गामा आफ्ना बुवाको नाममा रहेको मोहियानी हक हस्तान्तरणका लागि भूमि सुधार कार्यालय मोरङमा मुद्दा दर्ता गराएका थिए ।

कीर्ते मुद्दामा सांसद मियाँ, उनका श्रीमान मिया, तत्कालिन गाविसका कर्मचारी बिजय कामत र दीपचन्द मण्डललाई २०७४ वैशाख ३१ गते जिल्ला अदालत मोरङले एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो ।

कीर्ते मुद्दामा दोषी देखिएका तत्कालिन गाबिसका कर्मचारी कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारालाई थप दुई वर्ष सजाय सुनाएको थियो ।

तत्कालिन नेकपा एमालेबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित खातुनले तीन विघा १० कट्ठा मोही जग्गा आफ्नो नाममा ल्याउन २०७१ चैत ४ गते तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवको सही र कार्यालयको छापा कीर्ते गरी सिफारिस पत्र बनाएकी थिइन् ।

खातुन र उनका पति शेख सिलावरले गाविसका तत्कालीन खरिदार विजय कामत र कार्यालय सहयोगी दिपचन्द मण्डललाई १ हजार रुपैयाँ घुस दिइ सरकारी छाप दस्तखत कीर्ते गरेको बताइएको छ ।

मोरङ प्रहरीका प्रवक्ता लोकदर्शन थापाले अदालले दोषी ठहर गरेपछि प्रतिबादी खोज्न प्रहरी लागिपरेको बताए ।