काठमाण्डु- नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)सँग कानुनी उपचारका लागि सहयोग मागेका छन् ।
एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएपछि क्यानसँगको कुराकानीमा सन्दीपले आफू कानुनी लडाइँ लड्न तयार रहेको र त्यसका लागि सहयोग गर्न आग्रह गरेको क्यान सचिव प्रशान्त विक्रम मल्लले खुलासा गरेका हुन् ।
‘मैले यो गरेको छैन दाई, मलाई यो आरोप लागिसकेको छ । क्यानले कानुनी उपचारका लागि सहयोग गर्नुपर्यो । वकिलहरुको व्यवस्था मिलाइदिनुपर्यो भनेका छन् । उनीमा कुनै डर नै देखिएको छैन । एकदम कुल छन्’ सचिव मल्लले भने ।
सन्दीप हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज (जमैका)मा रहेका छन् । केन्याविरुद्धको टी-२० सिरिजपछि सन्दीप वेस्ट इन्डिज पुगेका थिए। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ। क्यानसँगको सम्पर्कमा उनले खेलको तयारीमा जान लागेको पनि बताएका छन् ।
सन्दीपविरुद्ध काठमाण्डु र भक्तपुरको विभिन्न स्थानहरुमा दिउँसो घुमाएर राती होटलमा लगी पटकपटक जबर्जस्ती करणी गरेको भन्दै १७ वर्षीया नाबालिकाले मंगलबार प्रहरी वृत्त गौशालामा उजुरी गरेकी छिन् । हाल प्रहरीले होटलका सिसिटिभीको फुटेज संकलन गरिरहेको र सुक्ष्मरुपमा अनुसन्धान अगाडि बढाएको छ । पीडित भनिएकी नाबालिकाको पनि स्वास्थ्य परिक्षण भैसकेको छ ।
प्रतिक्रिया