सन्दीपमाथिको अनुसन्धान सकियो, अभियोगपत्र दर्ताको तयारी

सन्दीपमाथिको अनुसन्धान सकियो, अभियोगपत्र दर्ताको तयारी


काठमाण्डु – बलात्कार आरोपपछि प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा प्रहरीले अनुसन्धान टुंग्याएको छ ।

प्रहरीले शुक्रबार अपरान्ह सन्दीपविरुद्धको अनुसन्धान प्रतिवेदन काठमाण्ड जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको हो । योसँगै आज (आइतबार) अदालतमा अभियोग पत्र दर्ताको तयारी भएको स्रोतले जानकारी दियो ।

आज अभियोग पत्र दर्ता भएपनि तिहार नसकिँदासम्म सन्दीप प्रहरी हिरासतमै रहने सम्भावना छ । सोमबारदेखि अदालत विदा हुने भएकाले बयान र थुनछेक बहसको काम प्रभावित हुने भएको हो । साथै प्रहरअीले आज सन्दीपलाई अदातलमा उपस्थित गराउने भएको छ ।

अदालतले यसअघि हिरासतमा राख्न अनुमति दिएको अवधि आज सकिएकाले प्रहरीले अदालतमा सन्दीपलाई उपस्थित गराउने भएको हो । यसअघि तेस्रोपटक चार दिनको म्याद थप गर्दै अब प्रतिवेदनसहित अदालतमा उपस्थित हुन भनेको थियो ।

सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय गर्न प्रहरीको राय छ । कानुनमा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षसम्मका नाबालिगलाई जबरजस्ती करणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सन्दीप दोषी देखिएको भन्दै प्रहरीले प्रतिवेदन बुझाएको हो ।

सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि १७ वर्षीय किशोरीले बलात्कारको आरोप लगाएकी छिन्।