सन्दीप लामिछानेले गराए आँखाको लेजर सर्जरी

सन्दीप लामिछानेले गराए आँखाको लेजर सर्जरी


काठमाडौं – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको आँखाको लेजर सर्जरी गराएका छन् । तिलगंगा आँखा प्रतिष्ठानको रिफ्र्याक्टिभ सर्जरी युनिटमा रिफ्र्याक्टिभ सर्जन डा. शाश्वत ढुंगेलले उनको सर्जरी गरेका हुन् ।

सन्दीपको उपचारका सन्दर्भमा डा. शाश्वतले शल्यक्रियापश्चात दृष्टिक्षमता (भिजन) एकदमै राम्रो आएको बताए । शल्यक्रियाप्रश्चात् प्रतिक्रिया दिँदै सन्दीपले टाढाको वस्तु देख्न समस्या भएपछि चस्माको विकल्प सर्जरी रोजेको बताए ।

सन्दीपले भने, ‘टाढाको वस्तु देख्न समस्या भएपछि चश्मा लगाउनुको विकल्पमा मैले यो सर्जरी गरेको हुँ । विदेशमा पनि बुझेको थिए, यससम्बन्धी तर आफ्नै देशमा गर्ने सोच भएको यहाँ गराएँ । म एकदमै खुशी तथा सन्तुष्ट छु । शल्यक्रिया पश्चात भिजनमा सुधार भएको छ ।’

डा. शाश्वतका अनुसार लेजर सर्जरीमा यो एकदमै नयाँ पद्धति हो, जुन नेपालमा तिलगंगा आँखा प्रतिष्ठानमा मात्र उपलब्ध छ । आँखामा पावर भएको र चश्मा लगाउन नचाहनेका लागि लेजर सर्जरी सेवा एकदमै प्रभावकारी रहेको छ । उनले यो सर्जरी –०.५ देखि –१४ सम्मको पावर भएकालाई गर्न सकिने बताउँदै लेजरको अरू पद्धतिभन्दा यो पद्धतिमा सुख्खापन कम हुने, घाउ छिटो पुरिने आदि फाइदा रहेको जानकारी दिए ।

उनका अनुसार विश्वका अन्य मुलुकहरुमा यो एकदमै महंगो प्रविधि भएकोले शल्यक्रिया शुल्क पनि महँगो छ । तर, नेपालमा प्रतिष्ठानले अन्य मुलुकभन्दा सस्तोमा उपलब्ध गराएको छ । त्यसैले विश्वका धेरै मुलुकबाट विदेशी तथा गैरआवासिय नेपाली यस शल्यक्रिया गराउन प्रतिष्ठान आउने गरेका छन् ।